logo
  • आइतबार, असोज १८ २०८३

होएलन्डका लागि म्यानचेस्टर युनाइटेडको प्रस्ताव स्वीकार


  • आशिष लामिछाने
  • आइतबार, साउन १४ २०८०

इटालियन क्लब एटलान्टा डेनिस फरवार्ड रास्मस होएलन्डलाई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा बेच्न सहमत भएको छ । एटलान्टाले युनाइटेडको ७२ मिलियन पाउण्डको प्रस्ताव स्वीकार गरेको हो । २० वर्षीय फरवार्डका लागि युनाइटेडले ६४ मिलियन पाउण्ड ट्रान्सफर रकम र ८ मिलियन पाउण्ड बोनसको रुपमा तिर्नेछ ।

गत सिजन एटलान्टा आएका होएलन्डले ३४ खेलमा १० गोल गरेका थिए । युवा अवस्थामा नै शीर्ष लिगमा जमेका होएलन्डले युनाइटेडसँग ५ वर्षको सम्झौता गर्ने सम्भावना छ ।

युनाइटेडले होएलन्डलाई यस सिजनको तेस्रो अनुबन्धन बनाउन लागेको हो । यसअघि क्लबले ५५ मिलियन पाउण्ड खर्चेर चेल्सीबाट मिडफिल्डर मेसन माउन्ट र ४७ मिलियन पाउण्डमा इन्टर मिलानका गोलरक्षक आन्द्रे ओनानालाई भित्र्याइसकेको छ ।

होएलन्डलाई अनुबन्ध गर्न फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले पनि चासो दिएको थियो । तर किलीयन एमबाप्पेको भविष्य अझै प्रष्ट नहुँदा क्लबले अहिले आन्तरिक समस्या सुल्झाउन व्यस्त रहेको छ ।

सन् २०२२ मा डेनमार्कको राष्ट्रिय टोलीबाट डेब्यु गरेका होएलन्डले ६ खेलमा ६ गोल गरिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend