पब्लिक सूचना
धादिङ । रसुवाबाट आएको बाढीका कारण धादिङको त्रिशूली नदी र अन्य खोला किनारका बस्तीहरू जोखिममा परेपछि प्रशासनले धमाधम सुरक्षित स्थानमा सार्न थालेको छ। बाढी गल्छी क्षेत्रसम्म आइपुगेकाले तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सुरक्षित ठाउँमा लैजाने कामलाई तीव्र पारिएको हो।
धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमका अनुसार बाढीले गल्छीमा एउटा झोलुङ्गे पुल बगाइसकेको छ। बाढीको सतह निरन्तर बढ्दै गएकाले मलेखु र गल्छी क्षेत्रका खोला किनारमा रहेका बस्तीहरूलाई प्राथमिकताका साथ खाली गराउन थालिएको छ। मानवीय क्षति हुन नदिन सुरक्षा निकायका सबै टोलीहरू फिल्डमै खटिएका छन्।
बाढीको जोखिम बढेपछि पृथ्वी राजमार्गमा गुड्ने सवारी साधनहरूलाई पनि सुरक्षित स्थानमा होल्ड गरिएको छ। राजमार्गमा हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै गाडीहरूलाई अगाडि बढ्न रोक लगाइएको प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी गौतमले सुरक्षा निकाय र विपद् व्यवस्थापनको टोली उच्च सतर्कताका साथ खोला किनारमै परिचालन भएको बताएकी छिन्। स्थानीय पालिकाहरूसँग समन्वय गरी जोखिममा रहेका मानिसहरूलाई सुरक्षित स्थानमा पुर्याउने कार्य भइरहेको छ। अहिलेको मुख्य प्राथमिकता नागरिकको ज्यान जोगाउनु रहेकोले प्रशासनले उच्च सतर्कता अपनाएको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend