logo
  • आइतबार, असोज १८ २०८३

ओखलढुंगाको चार्खुमा आगलागी हुँदा दुई घर जलेर नष्ट, २६ लाख बराबरको क्षति


  • पब्लिक सूचना
  • बुधबार, भाद्र १० २०८३

१० भदौ, ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मंगलबार साँझ विद्युत् सर्ट भएर आगलागी हुँदा दुई घर जलेर पूर्ण रूपमा नष्ट भएको छ ।

स्थानीय कोटमाया कार्कीको ढुङ्गामाटोको गारो र खरको छानो भएको दुईतले घरमा बिजुलीको तार सर्ट भएर आगलागी भएको थियो ।

उक्त आगो फैलिएर उनकी बुहारी ज्ञानकुमारी कार्कीको दुईतले घरमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखरकुमार साहले जानकारी दिए ।

आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, सिद्धिचरण नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा तीन घण्टापछि नियन्त्रणमा आएको थियो ।

आगलागीबाट कोटमाया कार्कीको घरसँगै अन्नपात, भाँडाबर्तन, लत्ताकपडा, एक तोला सुनजस्तो देखिने गहना र २० हजार रुपैयाँ नगद जलेर नष्ट हुँदा करिब  १२ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।

त्यस्तै ज्ञानकुमारी कार्कीको घरसँगै अन्नपात, लत्ताकपडा, दुई तोला दुई आना सुनजस्तो देखिने गहना र रु ५० हजार नगद जलेर नष्ट हुँदा करिब १४ लाख रुपैयाँ क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट मानवीय र चौपाया क्षति भने नभएको प्रहरी निरीक्षक साहले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend