logo
  • आइतबार, असोज १८ २०८३

मलका लागि लाइन बसेर रित्तो हात : कोहलपुरको साझा चोकस्थित कोहलपुर सहकारी संस्था लिमिटेड


  • पब्लिक सूचना
  • आइतबार, साउन १७ २०८३

धानबाली गोड्ने मुख्य समयमा पनि बाँकेमा रासायनिक मलको अभाव चर्किएपछि किसान बिहानैदेखि सहकारीको गेटमा लाइन बस्न बाध्य छन् । घन्टौँ पालो कुरे पनि मल नपाएर रित्तै फर्किनु परेको भन्दै किसानले सरकारसँग तत्काल आपूर्ति व्यवस्था सहज बनाउन माग गरेका छन् ।

कोहलपुरको साझा चोकस्थित कोहलपुर सहकारी संस्था लिमिटेडमा बिहीबार बिहानैदेखि ठुलो सङ्ख्यामा किसान मल लिन पुगेका थिए । सीमित परिमाणमा मल उपलब्ध भएपछि अधिकांश किसानले लामो समय लाइनमा बसे पनि मल पाउन सकेनन् । कोहलपुर–४ का किसान जीवन थापाले खेतीको मौसम सुरु हुनेबित्तिकै हरेक वर्ष मल अभावको समस्या दोहोरिने गरे पनि यसको स्थायी समाधान हुन नसकेको गुनासो गर्नुभयो । यस वर्ष वितरण प्रणालीमा सुधार हुने अपेक्षा गरिए पनि अवस्था विगतकै जस्तो रहेको उहाँले बताउनुभयो ।

त्यस्तै कोहलपुर–७ का किसान चैते थारूले बिहानैदेखि लाइनमा बसे पनि मल नपाएर फर्किनु परेको बताउँदै धान गोड्ने समयमा मल नपाउँदा उत्पादनमै असर पर्ने चिन्ता गर्नुभयो । समयमै मल प्रयोग गर्न नसके धानको वृद्धि र उत्पादन दुवै प्रभावित हुने भएकाले सरकारले तत्काल पर्याप्त मल उपलब्ध गराउनुपर्ने उहाँको माग छ ।

डुडुवा गाउँपालिका–३ का किसान रमेश मौर्यले हरेक वर्ष किसानले खेतीभन्दा बढी समय मल खोज्नमै खर्चिनुपर्ने अवस्था रहेको भन्दै आपूर्ति र वितरण प्रणाली प्रभावकारी बनाउन सरकारसँग आग्रह गर्नुभयो । कोहलपुर सहकारी संस्था लिमिटेडका व्यवस्थापक जुल्फिकार अलीका अनुसार कृषि सामग्री कम्पनीबाट ४२० बोरा युरिया र ९२ बोरा डिएपी मल प्राप्त भएको थियो । मल लिन आउने किसानको सङ्ख्या दुई हजारभन्दा बढी पुगेपछि माग धान्न नसकिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार बिहीबार १५० जना किसानलाई २५ /२५ केजीका दरले एक÷एक बोरा युरिया वितरण गरिएको छ भने थप दुई सय जनालाई पछि मल उपलब्ध गराउने गरी कुपन वितरण गरिएको छ । उपलब्ध मलभन्दा माग अत्यधिक भएकाले वितरणमा समस्या भएको उहाँको भनाइ छ । कृषि सामग्री कम्पनी लिमिटेड, बाँकेका निमित्त शाखा प्रमुख लालबहादुर थारूले जिल्लाको आवश्यकता अनुसार रासायनिक मल प्राप्त हुन नसक्दा अभाव देखिएको बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend