पब्लिक सूचना
जनकपुरधाम, साउन १५ गते । धनुषाको सबैला नगरपालिका–१२ स्थित एक मन्दिर परिसरमा मृत फेला परेका अन्दाजी ४० वर्षीय बन्ठु राउत कडेरी मन्दिरका पुजारी नभएको प्रहरीले स्पष्ट पारेको छ। मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डिआइजी) ओमप्रसाद अधिकारीले मृतक मन्दिरका पुजारी नभएको पुष्टि भएको जानकारी दिनुभयो।
मृतकलाई मन्दिरका पुजारी भन्दै सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा सूचना र समाचार प्रसारण भएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त सूचना असत्य भएको जनाएको छ। प्रहरीले मृतक मन्दिरका पुजारी नभई घुमन्ते जीवन बिताउने व्यक्ति रहेको स्पष्ट पारेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले मन्दिर परिसरमा फेला परेको शव बन्ठु राउत कडेरीकै भए पनि उहाँ मन्दिरका पुजारी नभएको बताउनुभयो। उहाँका अनुसार घटनाको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको अनुसन्धान टोली परिचालन गरिएको छ।
प्रहरीले उक्त घटनालाई धर्मसँग नजोड्न आग्रह गर्दै मृतक बाहिर काम गर्ने र राति मन्दिरमा आएर सुत्ने गरेको जनाएको छ। घटनालाई विशुद्ध आपराधिक प्रकृतिको भन्दै संलग्न जो–कोहीलाई कानुनको दायरामा ल्याइने प्रतिबद्धतासमेत प्रहरीले जनाएको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend