पब्लिक सूचना
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापनाको माग गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन्।
पार्टीको भक्तपुर जिल्ला कमिटीले बिहीबार गुण्डुमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई सही बाटोमा फर्काउनका लागि तत्काल विघटन गरिएको संसद फिर्ता गर्ने मागलाई लिएर अगाडि बढ्नुको विकल्प नरहेको बताएका हुन्।
‘अब हामीले देशलाई सही बाटोमा फर्काउनका लागि असंवैधानिक ढंगले विघटन गरिएको संसद तत्काल फिर्ता गर्ने मागलाई राखेर नै अगाडि बढने बाहेक अर्को विकल्प छैन,’ उनले भने।
अध्यक्ष ओलीले यसमा कांग्रेस पनि यही बाटोमा अगाडि बढ्ने विश्वाससमेत व्यक्त गरे।
‘मैले विश्वास लिएको छु–नेपाली काँग्रेसले पनि आफूलाई यही बाटोमा अगाडि बढाउने छ । नेकपा एमाले यही बाटोमा अघि बढनेछ । अरु पार्टीहरु पनि यही बाटो अगाडि बढ्नेछन्,’ उनले भने।
उनले सो मागलाई अघि नबढाए मुलुक बर्बाद हुने समेत बताए।
‘त्यसो गरेनौ, असंवैधानिक र अलोकतान्त्रिक कदमहरु, क्रियाकलापहरु त्यसलाई स्वीकारेर, मान्यता दिएर अगाडि बढ्न खोज्यौं भने देश बर्बाद हुनेछ । हामीले समयमा दृढतापूर्वक उपयुक्त कदम चाल्न सकेनौ भने पछि ढिला भएर भनेर पछुताउनु पर्नेछ,’ उनले भने।
अध्यक्ष ओलीले सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक भएको दोहोर्याए। —न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend