पब्लिक सूचना
काठमाडौँ, भदौ ४ गते । गृह मन्त्रालयले हालसम्मकै उच्च बेरुजु फस्र्योट गरेको छ । मन्त्रालयले गत आर्थिक वर्ष २०८१/८२ मा हालसम्मकै उच्च दुई अर्ब ३६ करोड १२ लाख ६३ हजार रुपियाँ बेरुजु रकम फस्र्योट गरेको जनाइएको छ । अघिल्लो आवमा गृह मन्त्रालय अन्तर्गत निकायमा कुल बेरुजु तीन अर्ब ७२ करोड ४५ लाख ८७ हजार रुपियाँ रहेको थियो ।
गृहमन्त्री रमेश लेखकले उक्त मन्त्रालयको नेतृत्व समाल्ने क्रममा नीतिगत, कानुनी तथा वित्तीय सुधारको घोषणा गरे अनुसार बेरुजु फस्र्योटलाई प्राथमिकता दिइएको थियो । गृह मन्त्रालय आर्थिक प्रशासन शाखाका प्रमुख उपसचिव खडानन्द अधिकारीले गत आवमा सम्परीक्षण तथा फस्र्योट प्रगति ६३.१७ प्रतिशत रहेको जानकारी दिँदै चालु आवमा एक अर्ब ४७ करोड ४५ लाख मात्रै कुल बेरुजु बाँकी रहेको र त्यसलाई पनि कार्ययोजना नै बनाएर फस्र्योट गरिने बताउनुभयो ।
आव २०८१/८२ मा लेखा परीक्षण अङ्कका आधारमा बेरुजु ०.०९ प्रतिशतमा झरेको बताउनुभयो । साथै उहाँले आव २०७८/७९ मा १.४१ प्रतिशत लेखा परीक्षण अङ्कको आधारमा बेरुजु रहेको पनि जानकारी दिनुभयो ।
मन्त्रालयले बेरुजु फस्र्योट समन्वयका लागि आन्तरिक व्यवस्थापन महाशाखाका प्रमुखको संयोजकत्वमा समिति गठन गरेको छ । समितिले बेरुजु लागतलाई अभिलेखीकरण गर्ने, नियमित कार्ययोजनाबमोजिम बैठक बसेर प्रगति समीक्षा गर्नेलगायतका काम निरन्तर गर्दै आएको छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend