logo
  • आइतबार, असोज १८ २०८३

‘लम्पी स्किन’ नियन्त्रण गर्ने सरकारी बजेट स्थानीय तहमा


  • पब्लिक सूचना
  • शुक्रबार, असार २९ २०८०

काठमाडौँ, असार २९ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशुमा लाग्ने ‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि साढे सात करोड रुपियाँ स्थानीय तहलाई पठाएको छ । देशैभर गाईबस्तुमा महामारीका रूपमा फल्दै गरेको रोग नियन्त्रणका लागि यस चालु आर्थिक वर्षका लागि सात करोड ६० लाख ८० हजार रुपियाँ स्थानीय तहलाई पठाएको जानकारी कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले दिनुभएको छ । उहाँले भन्नुभयो, “आवको अन्तिम अन्तिममा व्यवस्था गर्न सक्यौँ, बल्लबल्ल यति रकम पठाउन सक्यौँ । आगामी आवमा विशेष कार्यक्रमका साथ थप रकम पठाउने तयारी भइरहेको छ ।”

अर्थ मन्त्रालयसँग १० करोड रुपियाँ माग गरिएको थियो । कति आग्रहपछि यो सात करोड ६० लाख ८० हजार रुपियाँ मात्र दिएको पशु सेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले जानकारी दिनुभयो । सो रकम ७४१ वटा पालिका र विभाग अन्तर्गतको पाँच वटा प्रयोगलाई रकम पठाएको उहाँले बताउनुभयो । छ वटा महानगरपालिका तथा मनाङ जिल्लाका सबै पालिका तथा कोशीका दुई पालिकालाई रकम पठाएको छैन ।

लम्पी स्किन रोग नियन्त्रण गर्न स्थानीय तहलाई आग्रह | News from Nepal -  Ratopati

महानगरपालिकाहरूले आआफ्ना ठाउँका लागि आफैँ बजेटको व्यवस्था गरेका छन् भने कोशीका दुई पालिका र मनाङको पालिकामा सुरुमा देखिएको थिएन । अहिले अलिअलि देखिन थालेको छ । स्थानीय तह त्यसको नियन्त्रणमा लागेको छ । आगामी आवमा ७५३ वटै पालिकामा रकम पठाइने उहाँले जानकारी दिनभयो ।

कृषि मन्त्रालयका प्रवक्ता सञ्जेलले यो रकम पर्याप्त त होइन तर थोरै भए पनि यसले किसानलाई राहत हुने दाबी गर्नुभयो । जुन गाईबस्तुमा रोग लागिसकेको छ, त्यसका लागि त केही गर्न सकिँदैन । जसमा लागेको छैन, त्यसलाई जोगाउनका लागि खोप लगाउन यो रकमको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

अरू थप व्यवस्था प्रदेश सरकार तथा स्थानीय तहले गरिरहेको कृषि मन्त्रालयले जनाएको छ । पछिल्लो विवरण अनुसार रोग नियन्त्रणमा आएको छ । रोग लाग्नेभन्दा निको हुनेको सङ्ख्या वृद्धि भएको विभागका प्रवक्ता ढकालले बताउनुभयो ।

विभागबाट प्राप्त पछिल्लो विवरण अनुसार सात लाख ६४ हजार ६३८ पशु ‘लम्पी स्किन’ बाट सङ्क्रमित भएका थिए । त्यसमध्ये २६ हजार ९४१ पशुको मृत्यु भइसकेको छ भने चार लाख ९३ हजार ४३९ पशु निको भएका छन् । हाल दुई लाख ४४ हजार २५८ पशु सङ्क्रमणको अवस्थामा रहेका छन् । विभागले जानकारी गराए अनुसार हालसम्म दुई लाख २२ हजार ७५१ वटा पशुलाई खोप लगाइसकेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend