पब्लिक सूचना
बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले अमेरिकामा जारी फिफा क्लब विश्वकपमा न्युजिल्याण्डको अकल्याण्ड सिटीलाई १०-० ले पराजित गरेको छ। क्लब विश्वकप इतिहासकै यो अहिलेसम्म कै फराकिलो अन्तरको नतिजा हो ।
भिन्सेन्ट कम्पनीको नेतृत्वमा रहेको बायर्नले पूर्ण रुपमा खेलमा नियन्त्रण बनायो। जमाल मुसियालाले ह्याट्रिक र थोमस मुलरले २ गोल गरे। क्लबबाट बिदाइको तयारी गरिरहेका मुलरका लागि यो स्मरणीय प्रदर्शन रह्यो।l
खेलको छैटौं मिनेटमै किंग्स्ली कोम्यानले हेडमार्फत गोल गर्दै बायर्नलाई अग्रता दिलाए। त्यसको १२ मिनेटपछि साशा बोएले कोम्यानकै पासमा हाफ-भली प्रहार गर्दै दोस्रो गोल थपे।
माईकल ओलिजेले मुलरको क्रसलाई गोलमा परिणत गरे। कोम्यानले एक मिनेटमै आफ्नो दोस्रो गोल गर्दै बायर्नको अग्रता ४-० पुर्याए। त्यसपछि मुलरले ओलिजेको पासमा पाँचौं गोल गरे । ओलिजेले आफैंले एक उत्कृष्ट कर्लिङ प्रहारमार्फत गोल गरेपछि पहिलो हाफमै बायर्नले ६-० को विशाल अग्रता बनायो।
दोस्रो हाफमा सुरुवातमा गोलको लय केही सुस्ताए पनि, परिवर्तित खेलाडी मुसियालाले ५२औं मिनेटमा कर्लिङ स्ट्राइकमार्फत सातौं गोल गरे। मुसियालाले त्यसपछि पेनाल्टीमार्फत आफ्नो दोस्रो गोल गरे । ८४ औं मिनेटमा अर्को गोल गर्दै ह्याट्रिक पूरा गरे। खेलको अन्त्यतिर मुलरले सर्ज ग्नाब्रीको क्रसमा टोलीका लागि दसौं गोल गरे।
यो जितले सन् २०२२ मा अल हिलालले अल जजिराविरुद्ध गरेको ६-१ को जितलाई उछिन्दै क्लब विश्वकपको अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तरको कीर्तिमान बनायो। समूह सीमा बोका जुनिअर्स (अर्जेन्टिना), बेन्फिका (पोर्चुगल) पनि छन् ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend