पब्लिक सूचना
काठमाडौं, असार २४ गते । देशभर २६.७१ प्रतिशत रोपाइँ सकिएको छ। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार असार २१ गते बिहीबारसम्ममा देशभर २६.७१ प्रतिशत रोपाइँ सकिएको हो।
यो गत वर्षको सोही समयको तुलनामा भने १३ प्रतिशतले कम हो। गत वर्ष असार २१ गतेसम्ममा ४० प्रतिशत रोपाइँ सकिएको थियो। मन्त्रालयका अनुसार मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुन ढिलो सुरू भएकाले धान रोपाइँ कम भएको हो। मनसुन सक्रिय भएसँगै रोपाइँ बढ्ने बताइएको छ।

हालसम्म सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा र कम मधेश प्रदेशमा धान रोपाइँ भएको छ। ती प्रदेशमा क्रमश: ४८.९७ र ९.५३ प्रतिशत धान रोपाइँ भएको छ।
त्यस्तै, कर्णाली प्रदेशमा ४५.०२, कोशी प्रदेशमा ३६.६७, बागमती प्रदेशमा ३०.७८, लुम्बिनी प्रदेशमा २४.७८ र गण्डकी प्रदेशमा १७.५५ प्रतिशत धान रोपाइँ भएको छ।

© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend