पब्लिक सूचना
युक्रेनी सहरहरूमा रूसले मिसाइल र ड्रोन हमलालाई निरन्तरता दिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समकक्षी भ्लादिमिर पुटिनलाई चेतावनी दिएका छन्।
रूसले युक्रेनको राजधानी किभ र त्यस आसपास लगातार हवाइ हमला गरेपछि ट्रम्पले पुटिनलाई रूसको पतन निम्त्याउने काम नगर्नू भनेर चेतावनी दिएका हुन्।
आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट लेख्दै ट्रम्पले पुटिन युक्रेनको केही टुक्रा नभएर पूरै युक्रेन चाहन्छन् भनेर आफूले पहिल्यै बोलिसकेको पनि बताए।
‘मलाई लाग्छ त्यो प्रमाणित हुँदै गएको छ,’ ट्रम्पले लेखेका छन्, ‘यदी पुटिनले त्यसो गर्नु रूसको पतन निम्त्याउनु हो।’
ट्रम्पले पुटिन आफ्नो राम्रो सम्बन्ध भएको पनि बताएका छन्।
‘तर पछिल्लो समय उनी पागल भएका छन्। अनावश्यक रूपमा मानिसहरू मारिरेहका छन्। मिसाइल र ड्रोनहरू युक्रेनको सहरहरूमा प्रहार गरिरहेका छन्,’ ट्रम्पले भनेका छन्।
ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको पनि आलोचना गरेका छन्।
उनले जेलेन्स्कीले मनलाग्दी बोल्दा पनि समस्या समाधान हुन नसकेको बताएका छन्।
‘उनको मुखबाट निस्कने सबै कुराले समस्या निम्त्याउँछ, मलाई यो मन पर्दैन, र यो बन्द गर्नु राम्रो हुन्छ,’ उनले भने।
ट्रम्पले आफू त्यतिबेला राष्ट्रपति भइदिएको भए युद्ध नै नहुने पुनः दोहोर्याए।
‘यो जेलेन्स्की, पुटिन र बाइडेनको युद्ध हो, ट्रम्पको होइन। उनीहरुको अक्षमताले निम्त्याएको युद्ध हो,’ उनले भने, ‘ म केबल उनीहरूको अक्षमता र घृणाका कारण सुरू भएको भयानक र कुरूप आगो निभाउने प्रयत्न गर्दैछु।’
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend