logo
  • आइतबार, असोज १८ २०८३

चलचित्र बिकास बोर्डको कार्यक्रममा आफ्नै गाउ इलाममा नायक श्रीदेव


  • पब्लिक सूचना
  • आइतबार, जेष्ठ ११ २०८२

चलचित्र विकास बोर्डको आयोजनामा, इलाम नगरपालिकाको सहकार्य तथा कोशी प्रदेश सरकार र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा आयोजित ‘बाल चलचित्र महोत्सव, इलाम’ सफलतापूर्वक सम्पन्न भएको छ। यही जेठ ५ गतेदेखि सुरु भएको महोत्सव शुक्रबार एक भव्य समारोहका साथ सम्पन्न भयो।

महोत्सवमा इलाममै जन्मिएर नेपाली चलचित्र क्षेत्रमा ख्याति कमाएका नायक श्रीदेव भट्टराईको उपस्थिति विशेष आकर्षणको रूपमा रह्यो। आफ्नै गृहनगर इलाममा आयोजित राष्ट्रियस्तरको कार्यक्रममा सहभागी हुन पाउँदा आफू अत्यन्तै गौरवान्वित भएको उनले बताए। बालबालिकासँगको संवाद कार्यक्रममा उनले चलचित्र क्षेत्र र अभिनयसम्बन्धी अनुभव साझा गर्दै बाल प्रतिभाहरुलाई सिर्जनशील बन्न प्रेरणा प्रदान गरे।

बाल चलचित्र महोत्सव अन्तर्गत इलामका विभिन्न विद्यालयका ३७ जना विद्यार्थीलाई चलचित्र लेखन, निर्देशन र अभिनयको प्रशिक्षण दिइएको थियो। उनीहरूको सहभागितामा तयार गरिएको लघु चलचित्र ‘हजार सपनाहरू’ दर्शक सामु प्रस्तुत गरियो, जसको निर्देशन विशिष्ट कलाकार बद्री अधिकारीले गरेका थिए।

सिनेमा साक्षरता अभियानअन्तर्गत घुम्ती सिनेमा मार्फत इलाम बजार र श्रीअन्तु क्षेत्रका सडकछेउका विद्यालयहरूमा चलचित्र प्रदर्शन गरियो, जसले विद्यार्थी र अभिभावकमाझ नयाँ अनुभूति दिलायो। त्यस्तै, इलामकी फुटबलर एन्जिला तुम्बापोको जीवनमा आधारित चलचित्र ‘एञ्जिला’ पनि निर्माता तथा निर्देशकको उपस्थितिमा प्रदर्शन गरियो।

महोत्सवमा ‘शिलावाला’, ‘घुर्रा’, ‘द स्कुल वाल’ र ‘पाउलो’ जस्ता बाल चलचित्रहरू गौतम बुद्ध हलमा प्रस्तुत गरिए।

‘सेलिब्रेटीसँग बालबालिका’ अन्तर्गत बसुन्धरा भुसाल, गौरी मल्ल, मोहन निरौला, सन्तोष लोहनी, मिलन चाम्स, प्रेमकुमार श्रेष्ठ, श्रीदेव भट्टराई, दिनेश डिसी, जनकदीप पराजुली, पुनम क्षेत्रीलगायत कलाकारहरूले बालबालिकासँग प्रत्यक्ष संवाद गरेका थिए।

समापन समारोह इलाम नगरपालिकाको सभाहलमा आयोजना गरिएको थियो, जहाँ मेयर केदार थापा, उपमेयर विष्णुकुमारी लिम्बु, वडा अध्यक्षहरू, विद्यालयका शिक्षक-विद्यार्थी, अभिभावक र कलाकारहरूको उपस्थिति थियो।

नगर प्रमुख थापाले इलामलाई चलचित्र छायांकनको गन्तव्य बनाउन यस्ता महोत्सवले सहयोग गर्ने विश्वास व्यक्त गरे। चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले सिनेमा, शिक्षा र पर्यटनको समन्वयमा महोत्सवले उदाहरणीय कार्य प्रस्तुत गरेको उल्लेख गरे।

महोत्सवको दौरान ‘चलचित्र छायांकनका लागि इलाम’ लेखिएको टिसर्ट लगाएर सेलिब्रेटीहरू इलाम भ्रमणमा निस्किएका थिए, जसले कोशी प्रदेश भ्रमण वर्ष २०८२ को प्रचारमा समेत टेवा पुर्‍याएको विश्वास गरिएको छ।

नायक श्रीदेव भट्टराईको गृहनगर इलाममा सम्पन्न यो महोत्सवले बालबालिकाको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने, स्थानीयस्तरमा सिनेमा चेतना फैलाउने र इलामको पर्यटन प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्‍याएको छ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend