प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार पोखरा आउनुहुने भएको छ। आजदेखि पोखरामा सुरु हुने नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री ओली प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको हो। उद्घाटन कार्यक्रम पोखराको अमरसिंह चौरमा आयोजना गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलियाका अनुसार, प्रधानमन्त्री ओली बिहान ११ बजे हेलिकप्टरमार्फत पोखरा आउनुहुनेछ। प्रधानमन्त्रीको आगमनसँगै पोखरामा सुरक्षा कडाइ गरिएको छ।
यो उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीसहित एमाले महासचिव शङ्कर पोखरेल, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ लगायतले पनि सम्बोधन गर्नुहुनेछ। राष्ट्रिय युवा सङ्घ नेपालको १० औँ महाधिवेशनमा देशभरिबाट करिब २ हजार प्रतिनिधिहरू सहभागी हुँदैछन्।
युवा सङ्घको नेतृत्वका लागि पाँच जनाले अध्यक्ष पदमा आकांक्षा देखाउनुभएको छ। वर्तमान अध्यक्ष क्षितिज थेबेको दोहोरिने इच्छा छ भने उपाध्यक्ष कृष्णहरि केसी, महाराज गुरुङ र प्रकाश गौतम पनि अध्यक्ष बन्ने दौडमा छन्। वर्तमान महासचिव सुमन पुरीले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्।
महासचिव पदका लागि अहिलेका सचिव निरोज पौडेल, कुवेर अधिकारी, विनय शाह, खेम शर्मा, महेश चौलागाईं, पर्वत भण्डारी लगायतले प्रतिस्पर्धा गरिरहेका छन्। अहिले राष्ट्रिय युवा सङ्घको केन्द्रीय कमिटीमा ३३९ सदस्य छन् भने आगामी कमिटी १५१ सदस्यीय हुनेछ।