पब्लिक सूचना
गत वर्षको हिट फिल्म ‘होस्टेल ३’ को टिमले नयाँ फिल्मको घोषणा गरेको छ। निर्माण टिमले बुधबार ‘बाउ भर्सेस छोरा’ नामको फिल्म बनाउन लागेको घोषणा गरेको हो। सम्मान इन्टरटेन्मेन्टको प्रस्तुति रहने फिल्मलाई ‘होस्टेल ३’ कै निर्देशक सशान कँडेलले निर्देशन गर्नेछन्।
फिल्मले पुस्तान्तरण अर्थात् दुई पुस्ताबीचको सोँच, मूल्य र व्यवहारको टकराबलाई केन्द्रमा राखेर निर्माण हुने निर्देशक कँडेलले बताए। नेपाली समाजमा बढ्दो पुस्तागत टकराब र नयाँ पुस्ताले भोगिरहेको दुव्र्यसनको यथार्थतालाई पर्दामा उतार्न लागिएको लेखक माधव शर्माले बताए।
उनका अनुसार फिल्मले केवल बाउ र छोराबीचको भौतिक दूरी होइन, सोँच, व्यवहार, दृष्टिकोण र जीवनप्रतिको बुझाइमा आएको अन्तरलाई केन्द्रमा राख्नेछ। ‘होस्टेल ३’ को लेखन पनि माधव शर्माले गरेका थिए। ‘बाउ भर्सेस छोरा’ को थप विवरण, कलाकार चयन, छायांकन सुरू हुने मिति र प्रदर्शन समयबारे निर्माण टिमले चाँडै जानकारी दिने बताएको छ।
फिल्मको कार्यकारी निर्मातामा शंकर कोइराला छन्। अहिले स्क्रिप्टको अन्तिम चरणको काम भइरहेको जनाइएको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend