पब्लिक सूचना
म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिगको छनोटको सम्भावनालाई थप मजबुत बनाएको छ।
सिटीले इंग्लिस प्रिमियर लिगमा मंगलवार एएफसी बर्नमाउथलाई ३-१ ले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको छ। बर्नमाउथको युरोपेली फुटबल खेल्ने आशा समाप्त भएको छ ।
घरेलु मैदानमा १४ औं मिनेटमा ओमार मार्मुशको शानदार गोलले पेप ग्वार्डिओलाको टोलीलाई प्रारम्भिक अग्रता दिलायो।
क्लबका लागि अन्तिम घरेलु खेल खेलिरहेका केभिन डि ब्रुयनाले दोस्रो गोलको सुनौलो मौका गुमाए । तर त्यसपछि बर्नार्डो सिल्भाले ३८ औं मिनेटमा गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए।

माटेओ कोभासिचको रातो कार्डका कारण डि ब्रुयनाको इटिहाड स्टेडियममा बिदाइ खेल समयअघि नै टुंगियो। तर, उनको स्थानमा मैदान प्रवेश गरेका निको गोन्जालेजले ८९औं मिनेटमा तेस्रो गोल गरे। त्यसअघि बर्नमाउथका लुइस कुकले पनि रातो कार्ड पाएका थिए। दुबै टोलीले १० खेलाडीमा खेलको अन्त्य गरे।
ड्यानियल जेब्बिसनले ११औं स्थानमा रहेको बर्नमाउथका लागि इन्ज्युरी समयको छैटौं मिनेटमा एक सान्त्वना गोल फर्काए । सिटीका स्टार रोड्री लामो प्रतीक्षापछि बेञ्चबाट मैदानमा फर्किए।
सिटी ६८ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लियो। आइतवार फुलहममसँग सिजनको अन्तिम खेलबाट १ अंक जोडेमा सिटी शीर्ष ५ मा स्थान सुरक्षित हुनेछ।
अर्को खेलमा क्रिस्टल प्यालेसले उल्भ्सलाई ४-२ ले पराजित गर्यो। ५२ अंकसहित प्यालेस १२ औं स्थानमा छ। १४ औं स्थानको उल्भ्सको ४१ अंक छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend