logo
  • आइतबार, असोज १८ २०८३

एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज)को गन्तव्य परिपूर्ण लोकतन्त्र भएको बताउनुभयो


  • पब्लिक सूचना
  • शुक्रबार, बैशाख १९ २०८२

प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज)को गन्तव्य परिपूर्ण लोकतन्त्र भएको बताउनुभएको छ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले बिहीबार काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको सभामा सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभयो।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “जनताको बहुदलीय जनवादको गन्तव्य परिपूर्ण लोकतन्त्र नै हो। परिपूर्ण लोकतन्त्र हुनुपर्दछ। हरेक कुरामा जनता, लोकतन्त्र भनेको आवश्यकताको परिपूर्ति हुने प्रणाली हो। त्यसका निम्ति प्रयास गर्न पाइने प्रणाली हो। यस प्रणालीमा हामी अडिग छौं र अडिग भएर नै अगाडि बढ्छौं।”

उहाँले परिपूर्ण लोकतन्त्र भनेको विभिन्न प्रकारका असमानता हटाउने तथा समानतायुक्त समाज स्थापना गर्ने विषयसँग सम्बन्धित रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “यो परिपूर्ण लोकतन्त्र खालि राजनीतिक क्षेत्रमा मात्रै होइन। आर्थिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्रमा, वातावरणीय प्रश्नमा, मानव अधिकारका प्रश्नमा, सामाजिक न्याय, समानताका प्रश्नमा, विभिन्न प्रकारका असमानता हटाउने प्रश्नमा र समानतायुक्त समाज स्थापना गर्ने प्रश्नमा परिपूर्ण लोकतन्त्र भनेको त्यही हो।”

उहाँले संसारभरका मजदुर एक हुनुपर्नेमा जोड दिनुभयो। आन्दोलनभित्र अनेक प्रकारका फाटो ल्याउने तत्व रहेको भन्नुहुँदै उहाँले आन्दोलनलाई विचारमा एकरुपता ल्याउन आवश्यक रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “हाम्रै आन्दोलनभित्र पनि अनेक प्रकारका फाटोका खेलोमेलो गर्ने तत्वहरु छन्। त्यस्ता तत्वहरुलाई हामीले अस्वीकार गर्नुपर्दछ। हाम्रो आन्दोलनलाई विचारमा एकरुपता, सङ्गठनमा सुदृढ एकता, उद्देश्यमा केन्द्रित हुनुपर्छ। केन्द्रित मात्रै होइन, गतिशीलता हामीलाई आवश्यक छ। त्यसकारण, हाम्रो एकता, हाम्रो सङ्कल्प, गतिशीलताका लागि हो।”

प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय मजदुर दिवस बलिदान र सङ्घर्षका गाथालाई सम्झिने दिन रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “हामीले रगत, पसिना बगाएर ल्याएको संविधानको रक्षा गर्नुपर्दछ, हामी गर्छौं। आज हाम्रा बलिदान र सङ्घर्षका गाथालाई सम्झिने दिन हो। हाम्रो झण्डा कसरी रातो भयो ? ख्याल–ख्यालमा रातो भएको होइन। शान्तिको प्रतिकको रुपमा सेतो झण्डा बोकेका थिए मजदुरले। रगतले लतपतिएर झण्डा रातो भयो। त्यसपछि उनीहरुले घोषणा गरे – अब उप्रान्त हाम्रो झण्डा रातो हुनेछ।”

सोही, कारण कम्युनिस्ट पार्टीको झण्डा पनि रातो रङ्गको भएको उहाँको भनाइ छ। उहाँले मजदुर वर्गीय सजगता सधैं आवश्यक रहेको बताउनुभयो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend