logo
  • आइतबार, असोज १८ २०८३

रूसले युक्रेनको राजधानीमा हमला गरेपछि ट्रम्पले भने- भ्लादिमिर रोक!


  • पब्लिक सूचना
  • शुक्रबार, बैशाख १२ २०८२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनको राजधानीमा रूसले आक्रमण गरेप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

शुक्रबार युक्रेनको राजधानी किभमा रूसी आक्रमणबाट १२ जना मारिएका थिए भने दर्जनौं घाइते भएका छन्।

यसलाई रूस-युक्रेनबीच युद्धविराम पहल थालिएयताकै सबैभन्दा ठूलो आक्रमण भनिएको छ।

रूसी मिसाइल र ड्रोनहरूले राजधानी किएभको पेचेर्स्क क्षेत्रमा थुप्रै घरहरू भत्काएको थियो। उक्त आक्रमणमा कम्तिमा ५४ जना घाइते भएको छन्।

आक्रमणको १२ घन्टापछि पनि उद्धारकर्ताहरूले भग्नावेशषबाट शवहरु निकालिरहेका थिए भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले यो आक्रमणलाई लिएर आफू रूसप्रति खुसी नरहेको बताएका छन्। त्यसलाई उनले गलत समयमा रुसको गलत कदम भनेर टिप्पणी गरेका छन्।

‘यो आवश्यकता थिएन,’ उनले आफ्नो ट्रुथ सोसल अकाउन्टमा लेखेका छन्, ‘भ्लादिमिर रोक! एक सातामा ५ हजार सैनिकहरूले ज्यान गुमाइरहेका छन्। बरू शान्ति सम्झौता टुंग्याऔं।’

युक्रेनी राजधानीमा आक्रमण भएछि ह्वाइट हाउसमा ट्रम्पलाई पत्रकारहरूले रूसमाथि दबाब किन नबढाएको भनेर प्रश्न गरेका थिए।

जबाफमा ट्रम्पले रूसमाथि पछिल्लो समय दबाब बढाउँदै गएको दाबी गरे।

‘यो कि त रूसलाई थाहा छ। कि त हामीलाई। वा रूसका निकटस्थहरूलाई थाहा होला,’ ट्रम्पले भने।

ट्रम्पले शान्ति सम्झौताका लागि भएका वार्ताहरू सकारात्मक दिशातर्फ गइरहेको पनि बताए।

‘आगामी केहि दिन निकै महत्त्वपूर्ण दिन हुनेछन्। वार्ताहरू भइरहेका छन्।  हामी नजिक नजिक पुगेका छौं। मलाई लाग्छ हामी सम्झौता गर्न सफल हुनेछौं,’ ट्रम्पले भनेका छन्।

रूसले युक्रेनसँग हाल कायम रहेका नियन्त्रणरेखालाई मान्यता दिएर सम्झौता गर्न तयार रहेको यसअघि नै बताएको थियो।

ट्रम्पले त्यसलाई सम्झौताका लागि रूसले देखाएको अहिलेसम्मको लचकता भनेका थिए।

यद्यपि क्राइमिया लगायतका क्षेत्रमा रूसी स्वामित्व हुने विषय स्वीकार्य नरहने युक्रेनको अडान छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक कार्यक्रममा क्राइमियालाई युक्रेनले रूसी भूभाग भनेर नचिन्ने बताएपछि ट्रम्मले जेलेन्स्कीलाई गाली गरेका थिए।

उनले जेलेन्स्कीको त्यस्तो अभिव्यक्तिले नजिक नजिक पुगेको शान्ति सम्झौता फेरि भाडिन सक्छ भनेर सचेत गराएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend