logo
  • आइतबार, असोज १८ २०८३

बर्खामा यातायात सहज बनाउन बीपी राजमार्ग दोस्रो चरणको पुनर्निर्माण गरिँदै


  • पब्लिक सूचना
  • सोमबार, माघ २८ २०८१

काठमाडौँ । सरकारले बीपी राजमार्ग अन्तर्गत भकुण्डेबेसी–नेपालथोक सडक खण्डमा दोस्रो चरणको पुनर्निर्माण गर्ने तयारी थालेको छ । पहिलो चरणको पुनर्निर्माण अन्तर्गत यो खण्डका विभिन्न क्षेत्रमा नदी किनारका क्षेत्रमा उकास गरी अस्थायी बाटो बनाइएको थियो ।

बर्र्खा सिजनमा उक्त बाटोमा सवारी आवागमन सहज नहुने भएकाले त्यस अघि नै दोस्रो चरणको पुनर्निर्माण प्रक्रिया सम्पन्न गर्ने गरी तयारी अघि बढाइएको हो ।

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय प्रमुख इन्जिनियर शुभराज न्यौपानेले सोमबारदेखि नै सडक विभागले आवश्यक उपकरण निर्माण क्षेत्रमा पठाउने जानकारी दिए । उनले भने, ‘कतिपय स्थानमा खोलो फर्काउने, बाटो उठाउने, कति ठाउँमा जाली लगाएर ग्याभिन वाल बनाएर बर्खामा आउन सक्ने सामान्य बाढी रोक्न सक्ने गरी संरचना निर्माण गर्ने तयारी छ ।’

न्यौपानेका अनुसार दोस्रो चरणको अस्थायी सडक पुनर्निर्माणका लागि आवश्यक बजेट सडक बोर्डको आकस्मिक सडक मर्मतको बजेटमार्फत खर्च गरिनेछ । उक्त बजेटले नपुगेको खण्डमा सडक विभागको बजेटबाट व्यवस्थापन गरिने उनले जानकारी दिए । यो राजमार्ग स्थायी रूपमा पुनर्निर्माणका लागि ९ अर्ब ६६ करोड लागत लाग्ने अध्ययनले देखाएको छ ।

गत असोजको दोस्रो साता आएको बाढीले बीपी राजमार्गको भकुण्डेबेसी–नेपालथोक सडक खण्ड तहसनहस पारेको थियो । यो खण्डमध्ये ८.७ किलोमिटर सडक नदीले कटान गरेको हो । बाढीपछि सडक विभागले पहिलो चरणको पुनर्निर्माण अन्तर्गत अस्थायी ट्र्याक निर्माण गरी सवारी सञ्चालनमा ल्याएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend