logo
  • आइतबार, असोज १८ २०८३

आहा! रारा पोखरा गोल्डकप – एपिएफ र मच्छिन्द्र भिड्दै


  • पब्लिक सूचना
  • बुधबार, माघ २३ २०८१

आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिन आज पूर्व विजेता एपिएफ फुटबल क्लबले मच्छिन्द्र फुटबल क्लबको सामना गर्दैछ ।

पोखरा रंगशालामा खेल दिउँसो २:३० बजे सुरु हुनेछ।
एपिएफ र मच्छिन्द्रबिच आहा रारामा दोस्रो पटक भेट हुन लागेको हो ।

यसअघि २०७८ मा पहिलो पटक भेट हुँदा एपिएफ विजयी भएको थियो। सेमिफाइनलमा भएको त्यो भेटमा‌ एपिएफले मछिन्द्रलाई ३-१ ले हराएको थियो। त्यो संस्करणमा एपिएफ नै पहिलो पटक आहा गोल्डकपको उपाधि जितेको थियो। मच्छिन्द्र भने अहिले सम्म प्रतियोगिताको फाइनल पुगेको छैन।

यसअघि २३ पटक आहा रारा गोल्डकप आयोजना हुँदा ७ वटा टोलीले मात्र उपाधि जितेका छन् । नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दी क्लबले अहिले सम्म सर्वाधिक समान ६ पटक, थ्री स्टार क्लबले ५ पटक, संकटा क्लबले २ पटक जितेको थियो। आयोजक सहारा क्लब पोखरा, अफ्रिकन युनाइटेड, एपिएफ र त्रिभुवन आर्मी फुटबल क्लबले समान १ पटक जितेका थिए।

मनाङ र अफ्रिकन युनाइटेड बाहेक अहिले सम्मका सबै विजेताको जारी २४ औं संस्करणमा सहभागिता रहेको छ। ३ पटक फाइनल खेलेर एक पटक च्याम्पियन बनेको आयोजक सहारा यस पटक पहिलो खेलबाटै बाहिरिएको छ।

सहारा मंगलवार भएको उद्घाटन खेलमा पुलिससँग १-० पराजित भएको थियो। नकआउटका आधारमा जारी प्रतियोगितामा यसपटक ३ विदेशीसहित १२ टोलीको सहभागिता रहेको छ।

एपिएफ र मच्छिन्द्र पछिल्लो पटक दशरथ रंगशालामा आयोजना भएको सभापति कपमा एकअर्कासँग खेलेका थिए। त्यो खेलमा मछिन्द्रले एपिएफलाई १-० ले हराएको थियो। इन्ज्युरी समयमा सनिश श्रेष्ठले पूर्व क्लबविरुद्ध गोल गर्दैै मच्छिन्द्रलाई जित दिलाउएका थिए।

आहाको उद्घाटनमा आयोजक सहाराले सनिशलाई उत्कृष्ट राष्ट्रिय खेलाडी पुरस्कारबाट सम्मान गरेको थियो। उनै सनिश सम्मिलित मच्छिन्द्रले एपिएफसँग जित यात्रालाई निरन्तरता दिनेछ वा पोखरामा एपिएफले जितबाट यसपटकको यात्रा सुरु गर्नेछ त्यसका लागि आज साँझसम्म कुर्नुपर्नेछ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend