पब्लिक सूचना
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोको उत्पादनमा आज देखि लगाउने घोषणा गरेको २५ प्रतिशत भन्सार महसुल ३० दिन नलगाउने भएका छन्।
ट्रम्पले फेब्रुअरी ४ देखि लागू हुने गरी क्यानडा र मेक्सिकोबाट आउने आयातमा २५ प्रतिशत भन्सार महसुल लगाउने शनिबार घोषणा गरेका थिए। क्यानडाबाट आउने कच्चा तेलमा भने उनले १० प्रतिशत मात्रै भन्सार लगाउने भनेका थिए।
उनले अवैध आप्रवासी र लागुपदार्थ अमेरिका पठाएकाले मेक्सिको र क्यानडालाई भन्सार लगाउने भनेका थिए।
अमेरिकाका दुई प्रमुख व्यापार साझेदार अनि उत्तर र दक्षिणका छिमेकीले उनको सीमा सुरक्षा र लागूऔषध तस्करीबारे चिन्ताहरूको सम्बोधन गर्ने भने पछि अन्त्यमा उनले आफ्नो कदम ३० दिनका लागि रोकेका हुन्।
यसले व्यापार युद्धमा धकेलिन लागेको उत्तर अमेरिकालाई केही दिनको राहत भएको छ। क्यानडा र मेक्सिको मात्रै नभएर अमेरिकाकै आर्थिक वृद्धिमा ठूलो असर पार्ने र मूल्यवृद्धि गराउने खतरा हालका लागि टरेको छ।
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शानबामले अवैध आप्रवासी र लागुपदार्थ अमेरिका छिर्नबाट रोक्न १० हजार सैनिक खटाउने भनेपछि ट्रम्पले भन्सार लगाउने कदम रोकेका हुन्। जबाफमा अमेरिकाले पनि मेक्सिकोमा आफ्नो शक्तिशाली हतियार जानबाट रोक्न प्रतिबद्धता जनाएको छ।
ट्रम्पको पहिलो कार्यकालमा पनि भन्सारबाट जोगिन मेक्सिकोले अमेरिका सँगको सीमामा १५ हजार सैनिक पठाउने प्रतिबद्धता व्यक्त गरेको थियो।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पनि सामाजिक संजाल एक्समा सोमबार पोस्ट गर्दै भन्सार महसुलमा रोक लागेको बेलामा अमेरिकी सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्। आफ्नो सरकारले फेन्टनिल नियन्त्रण गर्न एक जना अधिकारी नियुक्त गर्ने र मेक्सिकोका लागु पदार्थ पैठारी गर्ने गिरोहहरूलाई आतंकवादी समूह भनेर सूचीबद्ध गर्ने पनि भनेका छन्।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend