पब्लिक सूचना
{"caption":"u091au093fu0924u0935u0928u092eu093e u0928u093fu0930u094du092eu093eu0923u093eu0927u0940u0928 u0917u094cu0924u092e u092cu0941u0926u094du0927 u0905u0928u094du0924u0930u094du0930u093eu0937u094du091fu094du0930u093fu092f u0915u094du0930u093fu0915u0947u091f u0930u0902u0917u0936u093eu0932u093e u0964 u0924u0938u094du092cu093fu0930 : u0927u0941u0930u094du092eu0941u0938-u0938u0941u0928u094du0924u0932u0940 u092bu093eu0909u0928u094du0921u0947u0938u0928","photographer":"","alt_text":""}
चितवन, माघ ३ गते । भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र रूपमा अघि बढेको छ । महानगरले सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा निर्माण सुरु गरेको रङ्गशालाको हालसम्म करिब १५ प्रतिशत काम सम्पन्न भएको हो ।
महानगरका सिनियर डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार हाल एक सय ५० मजदुरले दैनिक काम गरिरहेका छन् । दुई दिनपछि कामदार थप गरी दुई सय १० पुर्याइने जनाउँदै उहाँले चाडपर्वका समयमा निर्माणमा केही ढिलाइ भए पनि मजदुर थप गरेर लक्ष्यअनुरुप कामलाई तीव्र बनाइएको बताउनुभयो ।
प्याराफिटको ढलानका लागि डण्डी बाध्ने, दुईवटै टावरमा पिल्लर राख्ने, नालाको ढकनी बनाउनेलगायत काम भइरहेका इन्जिनियर आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हामीले १५ प्रतिशत हाराहारी काम गरेका छौँ । बजेटको समस्या नभएमा तोकिएको समयमा निर्माण सम्पन्न हुनेछ । हालसम्म निर्माण कम्पनीलाई रु छ करोड ६० लाख अग्रिम भुक्तानी गरिएको छ ।”
महानगरप्रमुख रेनु दाहालले प्रदेश सरकारले रु १० करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो । सङ्घीय सरकारले चालु आर्थिक यस वर्ष विनियोजन गरेको रु २५ करोड भने आइनसकेको उहाँले बताउनुभयो । सहरी विकास मन्त्रालयबाट फाइल अर्थमन्त्रालयमा पुगिसकेकाले यथाशीघ्र बजेट निकासा हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
महानगरप्रमुख दाहालले भन्नुभयो “दुई महिना अघि अर्थमन्त्रालयमा फाइल पुगेको छ । अर्थमन्त्री र सचिवसँग यो विषयमा छलफल भइसकेको छ । केही दिनमा बजेट निकासा हुने आश्वासन पाएको छु ।” प्रदेश र सङ्घीय सरकारबाट बजेट निकासा समयमा हुने प्रतिबद्धता आएकाले बजेटका कारण काम नरोकिने उहाँले बताउनुभयो ।
आर्थिक अभावका कारण धुर्मुस सुन्तली फाउण्डेशनले काम स्थगित गर्दै स्वामित्व हस्तान्तरण गरेपछि बागमती प्रदेश र सङ्घीय सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माण अगाडि बढाएको हो । रङ्गशाला निर्माणको जिम्मा पाएको हिमालयन कालिञ्चोक बिबिआर जेभीले दुई वटा भिआइपी टावर, १० हजार क्षमताको प्याराफिट, मैदान र पीच निर्माण सुरु गरेको छ ।
धुर्मुस सुन्तली फाउण्डेशनले यसअघि पाँच हजार क्षमताको प्याराफिट निर्माण गरिसकेकाले यो काम सकिएपछि रङ्गशालाको कुल क्षमता १५ हजार पुग्ने महानगरका सिनियर डिभिजनल इन्जिनियर आचार्यले जानकारी दिनुभयो । गत असार २३ गते रु ७८ करोड ५० लाखमा ३० महिनाभित्रमा काम सक्नेगरी भरतपुर महानगर र निर्माण कम्पनीबीच सम्झौता भएको थियो । सम्झौता मितिभन्दा अगाडि काम सक्ने निर्माण कम्पनीको दाबी छ । रङ्गशाला बनेसँगै अन्तर्राष्ट्रियस्तरका खेल यहाँ खेल्न सकिने छ ।
महानगरप्रमुख दाहालले सङ्घ, प्रदेश र स्थानीय सरकारको सहकार्य र समन्वयमा बन्न लागेको रङ्गशालालाई यथाशीघ्र सम्पन्न गरी खेलकुदका प्रतियोगिता सञ्चालन गर्ने महानगरको योजना रहेको बताउनुभयो ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend