logo
  • आइतबार, असोज १८ २०८३

सभापति देउवाले आफ्ना मन्त्रीहरूसँग आज छलफल गर्दै


  • पब्लिक सूचना
  • बिहिबार, माघ ३ २०८१

नेपाली कांग्रेसले संघीय सरकारमा सहभागी १२ जना मन्त्रीहरूसँगको सामूहिक छलफललाई बिहीबार पनि निरन्तरता दिने भएको छ।

पार्टीबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी रहेका १० जना मन्त्री र दुई जना राज्यमन्त्रीहरूसँग कांग्रेसले आज छलफल गर्ने तय भएको हो।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा छलफल हुने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए।

कांग्रेस र एमालेबीच गत असार १७ मा ७ बुँदे सहमति भएर त्यसैको जगमा असार ३० गते एमाले अध्यक्ष ओली प्रधानमन्त्री नियुक्त भएका थिए। सरकारमा १० मन्त्री र दुई राज्यमन्त्री गरी कांग्रेसले १२ जनालाई पठाएको छ।

सरकारका काम परिणाममुखी बनाउन कांग्रेसले मन्त्रीहरूसँग संवाद थालनी गत भदौदेखि सुरू गरेको थियो। महिनामा एक वा दुई पटक यस्ता छलफल गर्ने कार्यलाई कांग्रेसले निरन्तरता दिँदै आएको छ। पार्टी पदाधिकारी, संसदीय दल कार्यसमिति र मन्त्रीहरूबीच छलफल गरी सरकारका कामकारबाहीलाई प्रभावकारी बनाउन खोजिएको कांग्रेसको भनाइ छ।

मन्त्री र राज्यमन्त्रीहरूसँग अहिलेसम्म गरेका कामकाज, कार्यमूलक योजना र पार्टीसँगको समन्वय लगायतका विषयमा कांग्रेसले छलफल गर्नेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend