logo
  • आइतबार, असोज १८ २०८३

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा विजयी


  • पब्लिक सूचना
  • मंगलबार, पुष ९ २०८१

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन्।

इटहरीमा पुस ६ गतेदेखि पुस ८ गतेसम्म चलेको ५१ औं महाधिवेशनबाट सन् २०२५ का लागि थापा अध्यक्षमा विजयी भएकी हुन्।

अध्यक्षमा थापाले ७६२ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी जीवन कार्कीले ४५३ मत मात्रै ल्याएका छन्।

गए राति सम्पन्न मतगणनाबाट थापा अध्यक्षमा निर्वाचित भएको महाधिवेशनमा सहभागी जेसीज गोरखाका पूर्वअध्यक्ष शरण श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।

राष्ट्रिय अध्यक्षमा निर्वाचित भएकी थापा सन् २०१९ मा मनोहरा जेसीजको अध्यक्ष थिइन्। सन् २०२१ मा राष्ट्रिय उपाध्यक्ष र सन् २०२३ मा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष बनेकी थिइन्।

यस्तै राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भए। यस पदमा ८ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो भने चार जना निर्वाचित भएका हुन्।

राष्ट्रिय उपाध्यक्ष १२ जना निर्वाचित भएका छन्।

सन्दीप खत्री, दीपक अधिकारी, धनराज कँडेल, सुजन थापा काजी, संगम कार्की, बविता पाण्डे, अभिषेक दुलाल, सुमित्रा भट्टराई, उज्ज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल निर्वाचित भएका हुन्।

महासचिव, कोषाध्यक्षलगायत पद भने मनोनीत हुने व्यवस्था छ। जेसीजमा १७८ शाखा छन् भने एक हजार दुई सयभन्दा बढी मतदाता थिए।

अध्यक्षमा निर्वाचित थापा २०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौंको टोखा नगरपालिकाको मेयर पदमा पराजित भएकी थिइन्। उनी नेपाली कांग्रेसबाट उम्मेदवार थिइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend