पब्लिक सूचना
भारतबाट खाना पकाउने एलपिजी ग्यासको मूल्य घटेर आएको छ।
नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नयाँ मूल्य सूचीमा ग्यासको भाउ प्रतिसिलिन्डर एक सय ६१ रूपैयाँ घटाएर पठाएको छ।
यो नयाँ मूल्य सँगै ग्यासमा भइरहेको घाटाबाट मुक्त भएको पनि निगमले जनाएको छ। यस अघिसम्म निगमलाई ग्यासमा प्रतिसिलिन्डर एक सय ६० रूपैयाँ घाटा थियो।
आइओसीले पेट्रोल र मट्टीतेलमा पनि क्रमशः प्रतिलिटर १४ पैसा र प्रतिलिटर ५ पैसा घटाएर पठाएको छ।
त्यस्तै, डिजेलमा प्रतिलिटर दुई रूपैयाँ १६ पैसा र हवाई इन्धनमा ५७ पैसा बढाएर पठाएको छ।
नयाँ मूल्यअनुसार पन्ध्र दिनमा एक अर्ब ६० करोड रूपैयाँ नाफा हुने नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले बताए।
अब आन्तरिक बजारमा भने पेट्रोलियम पदार्थको मूल्य के हुनेछ भन्नेबारे निगम सञ्चालक समितिले छलफल गर्ने उनले जानकारी दिए।
हाल बजारमा प्रतिलिटर पेट्रोल एक सय ७५ रूपैयाँ, डिजेल र मट्टीतेल एक सय ५५ रूपैयाँ, हवाई इन्धन आन्तरिक एक सय ६० रूपैयाँ र बाह्य एक डलर ३५ सेन्ट र खाना पकाउने एलपिजी ग्यास सिलिन्डरको १८ सय रूपैयाँ छ।
नेपाल आयल निगमले आइओसीसँग पेट्रोलियम पदार्थ किनेर यहाँ बिक्री वितरण गर्छ। आइओसीलाई नेपाल आयल निगमलाई पत्येक १५–१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य पठाउँछ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend