पब्लिक सूचना
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिस्नेरी पहिरोमा निधन भएका एन्फा एकेडेमीका ६ खेलाडीको प्रति परिवारलाई ८ लाख रुपैयाँ दिने भएको छ।
एन्फा कार्यसमितिको आइतवार बसेको आपतकालीन बैठकले मृतक खेलाडीको परिवारलाई आर्थिक सहयोग गर्नुका साथै निधन भएका खेलाडीहरुको नाममा परिवारले चाहेको स्थान र क्षेत्रमा एन्फाले अक्षयकोष खोल्ने निर्णय गरेको छ।
त्यो कोषमा अन्यलाई सहयोग गर्न अपिल गर्ने तथा फिफा र एएफसीमा थप राहतको लागि अपिल गर्ने पनि एन्फाले जनाएको छ।
आसोज ११ गते मकावनपुर जिल्ला इन्द्रसरोवर गाँउपालिका वडा नं. ३ स्थित एन्फा वात्सल्यदेवी एकेडेमीका ६ जना खेलाडीहरु आदित्य बलम्पाखी, विकल रेग्मी, प्रियान्स आर्चाय, दिवस बॉनिया, अनुपम घलान र साईमन योन्जनको पहिरोमा परि मृत्यु भएको थियो।
भर्चुअल रुपमा बसेको बैठकले घटनाको अध्ययन समिति पनि गठन गरेको छ। तीन सदस्यीय समितिमा एन्फा केन्द्रीय सदस्य विकास नारायण श्रेष्ठको संयोजकत्वमा एन्फा सहायक महासचिव दामोदर भट्टराई (बद्री) र एन्फा केन्द्रिय सदस्य टिका राम लामा रहेका छन्।
वरिष्ठ उपाध्यक्षको असहमति
तर एन्फा बैठकको लगत्तै गतै एन्फा वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्काले समिति गठनप्रति असहमति जनाएका छन्।
‘एन्फा र व्यवस्थापन समितिको लापरवाहीको कारणले घटना घटेको भनि प्रश्न उठिरहेको, छानबिन गर्नु पर्ने व्यक्ति नै समितिमा रहेको र सो घटना सम्बन्धि छानबिन गर्न संसदीय समिति समेत गठन भईसकेको अवस्थामा यो समितिको औचित्य नहुने हुदा यो निर्णयमा सहमती छैन,’ खड्काले एन्फा अध्यक्षलाई लेखेको पत्रमा भनिएको छ।
पूर्वाधार विकास समितिको शुक्रवार बसेको बैठकले
यही घटनाको छानबिन गर्न संसदिय छानबिन समिति गठन गर्नै निर्णय गरेको छ ।



© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend