पब्लिक सूचना
पोखरा महानगरका १० वटा सामुदायिक विद्यालयमा चिनियाँ भाषा कक्षा चलाउने तयारी गरेको छ।
पोखरा महानगरपालिका र काठमाडौस्थित चिनियाँ दूतावासबीच सम्झौता भएर भाषा कक्षा संचालन गर्न लागिएको मेयर धनराज आचार्यले बताए।
‘चिनियाँ दूतावास र पोखरा महानगरपालिकाबीच सम्झौता भएर अहिले १० वटा स्कुलमा चाइनिज भाषा कक्षा चलाउन लागिएको छ,’ उनले भने, ‘यो कक्षा अतिरिक्त हुन्छ र इच्छुक विद्यार्थीले मात्र सिक्न पाउँछन्।’
महानगर र चिनियाँ दूतावासबीच ३ महिनाअघि भाषा कक्षा चलाउन सम्झौता भएको थियो। सम्झौताअनुसार चीनबाट १० जना स्वयंसेवी भाषा प्रशिक्षक पोखरा आइपुगेका छन्।
मेयर आचार्यका अनुसार कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले उक्त भाषा कक्षामा सहभागी हुन पाउनेछन्।
चिनियाँ भाषा पढाउन महानगरपालिका छनौट गरेका विद्यालयहरुमा पार्दी मावि, बालमन्दिर मावि नदीपुर, जनप्रकाश मावि भण्डारढिक, छोरेपाटन मावि, लक्ष्मी आदर्श मावि सिसुवा, गौरीशंकर मावि हेम्जा, विष्णु पादुका मावि हेमजा, राष्ट्रिय मावि टुडिखेल, लक्ष्मी मावि अर्घौ र जनप्रिय मावि सिमलचौर छन्।
यी विद्यालयले चिनियाँ भाषा सिक्न चाहने २० देखि ३० जना विद्यार्थीको समुह बनाएर अतिरिक्त समयमा कक्षा संचालन हुने मेयर आचार्यले बताए। उनका अनुसार अंग्रेजी भाषालाई माध्यम भाषा बनाएर चाइनिज भाषा सिकाइनेछ। कक्षा यही भदौ २७ गतेदेखि संचालन हुनेछ।
पोखरा घुम्न आउने पर्यटकलाई लक्ष्य बनाएर चिनियाँँ भाषा कक्षा चलाउन लागिएको मेयर आचार्यले बताए। आगामी दिनमा फ्रेन्च र स्पेनिस भाषा कक्षा चलाउन पनि राजदूतावाससँग कुराकानी भइरहेको उनले बताए।
‘पोखरा आउने विदेशी पर्यटकलाई लक्षित गरेर चाइनिज भाषा कक्षा चलाउन लागेका हौं,’ उनले भने, ‘भविश्यमा फ्रेन्च र स्पेनिस भाषा कक्षा चलाउन पनि दूतावासहरुसँग कुराकानी गरेको छु।’
उनले भाषा कक्षा विद्यार्थीले मात्र नभएर अरु बाहिरका व्यवसायी र पर्यटक गाइड पनि भाषा कक्षामा सहभागी हुन पाउने बताए।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend