पब्लिक सूचना
सुलीकोट, साउन ३० गते । उत्तरी गोरखाको धार्चे गाउँपालिका –५ गुम्दामा आलु मेला २०८१ हुने भएको छ । मंगलबार गोरखा सदरमुकाममा पत्रकार भेटघाट गर्दै आलुको पकेट क्षेत्रमा आउँदो भदौ १ गतेदेखि आलु मेला सञ्चालनमा आउने आलु मेला संयोजक मिनबहादुर सुनारले जानकारी दिनुभयो ।
उहाँका अनुसार गुम्दा एकता युबा क्लब र थामरा धार्चे युबा क्लबको आयोजनमा हुने मेला धार्चे गाउँपालिका –५ को गुम्दामा आउँदो भदौ १ गतेदेखि सञ्चालनमा आउनेछ । समुन्द्र सतहबाट २ हजार ३ सय मिटर अग्लो स्थानमा रहेको गम्दामा उत्पादित आलु अत्यन्त मिठो मानिन्छ ।
हरेक बर्ष गुम्दा एकता युबा क्लब र थामरा धार्चे युबा क्लबको आयोजनमा मेला अबधिभर आलु प्रदर्शनी, उसिनेको आलु, पोलेको आलु तथा आलुका दर्जनौ परिकारको स्वाद लिन सकिने संयोजक सुनारले बताउनुभयो ।
आलु खाने प्रतियोगितातर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २ हजार, १ हजार ५ सय र १ हजारका साथै मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । मेलालाई आकर्षण बनाउन स्थानीय खाना तथा साँस्कृतिक कार्यक्रम समेत राखिएको संयोजक सुनारको भनाइ छ ।
मेलामा बारपाक, लाप्राक, लापु, काशीगाउँ, माछीखोला, केरौजा, आरुघाट उहियाँ तथा उत्तरी क्षेत्रका गाउँबाट अधिकांश मानिस मेला आउने गर्दछन् । उत्तरी गोरखाका ठुला चाड पर्बजस्तै मेला अबधिभर १५ हजार दर्शकले अबलोकन गर्ने अनुमान आयोजक संस्थाले गरेको छ ।
गुम्दा आलुका लागि प्रख्यात भएकाले पनि काठमाडौं, पोखरा, चितवन, हेटौडा लगायतका जिल्लामा बिक्री हुने गरेको आयोजक समितिका संयोजक सुनारले बताउनुभयो ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend