पब्लिक सूचना
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसले संसदीय दल नेता कमलबहादुर शाहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ।
आइतबार बसेको प्रदेश संसदीय दल बैठकले दल नेता शाहलाई मुख्यमन्त्री बनाउने औपचारिक निर्णय गरेको हो।
आइतबार नै प्रदेश प्रमुखको कार्यालय पुगेर शाहले मुख्यमन्त्रीमा दाबी पेस गर्ने एक सांसदले जानकारी दिए। ‘संसदीय दल नेता कमलबहादुर शाहलाई मुख्यमन्त्री बनाउने निर्णय भयो। प्रदेश प्रमुखले तोक्नुभएको समयभित्रै दाबी पेस गर्छौं,’ उनले भने।
यसअघि सभापति शेरबहादुर देउवाका भतिजोसमेत रहेका सांसद प्रकाश देउवा, बहादुर थापा र दिवानसिंह विष्टले आकांक्षा देखाएपछि सुदूरपश्चिम कांग्रेसभित्र मुख्यमन्त्री को बन्ने भन्ने विषयमा रस्साकस्सी चलेको थियो।
मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएर प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकारको गठन गरिसक्दा पनि कांग्रेसबाट को मुख्यमन्त्री बन्ने भन्ने विषयमा सहमति जुट्न नसकेपछि सभापति देउवाले संसदीय दल नेता शाहलाई नै दोहोर्याउन निर्देशन दिएका थिए।
सभापतिको निर्देशनपछि आकांक्षीहरूले पछि हटे। आन्तरिक सहमति जुटेलगत्तै दलको बैठक बसेर कांग्रेसले औपचारिक निर्णय गरेको हो।
शाहले नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीको सहयोगमा मुख्यमन्त्रीाम दाबी पेस गर्ने तयारी गरेका छन्।
कुन दलले कति मन्त्रालय र कुन-कुन मन्त्रालय लिने भन्नेबारे छलफल गर्न बाँकी रहेको नेताहरूले बताएका छन्।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend