नागरिक जाग्न नसक्नु नै अहिलेको समस्या हो


लेखक : admin      ११ जेष्ठ २०७८, मंगलवार ०२:५४ मा प्रकाशित     
नागरिक जाग्न नसक्नु नै अहिलेको समस्या हो

-डा.डिआर उपाध्याय,

केही समय अघि देखी कोरोना महामारीले देश थलिएको अवस्था छ । कोरोना भाईरसका कारण निषेधाज्ञा जारी गरिएको र त्यसवाट उत्पन्न समस्याले देशको अर्थतन्त्र पनि कमजोर बनेको छ । अहिले सम्म माहामारी नियन्त्रणमा आउन सकेको छैन । जसले गर्दा आम नागरिक चिन्तित बनेर बस्न बाध्य छन । निषेधाज्ञा र यसवाट उत्पन्न समस्याले आज धेरैको रोजीरोटी खोसिएको अवस्था छ ।

बिहान बेलुकाको हात मुख जोडन समेत धेरैलाई धौ धौ भईरहेको छ । जनताको जनजीवन र अहिलेको अवस्था अत्यन्तै जटिल बन्दै गएको छ । जनताको समस्या समाधान गर्ने भन्दा पनि दलहरु आफनै स्वार्थमा केन्द्रित बनिरहेका छन । आज देशको राजनीति सहि ढंगले अघि बढन सकिरहेको छैन । राजनीति सहि ढंगले अघि बढन नसक्दा देशमा धेरै समस्या उत्पन्न भईरहेका छन ।

शक्ति र स्वार्थका लागी दल र तिनका नेताहरुले जे मन लाग्यो त्यही गरिरहेका छन । नेताले जे गर्दा पनि नागरिक चुप लागेर बस्ने कारणले गर्दा नै राजनीतिमा यस्तो बिकृत आएको हो । नागरिक जाग्न नसक्नु नै अहिलेको समस्या हो । अहिले राजनीति वृत्तमा जे देखिएको छ, त्यसले जनतामा निराशा उत्पन्न गराएको छ । महामारीमा नागरिकको जीउ ज्यान जोगाउनेतर्फ लाग्नुपर्ने समय सरकार र राजनीतिक दलको ध्यान अन्तै मोडिएको छ। जसका कारण कोरोना संक्रमण फैलिएको छ ।

बिरामीहरुको समयमा उपचार नपाएर ज्यान गएको छ । कोरोना माहामारीको मौका छोपेर हरेक क्षेत्रमा बेतिथि बढ्न थालेको छ। महामारीबाट कसरी सुरक्षित रहने भन्ने चिन्ताले मानव समुदाय छट्पटाइरहेको समयमा कालोबजारी गर्ने र कमाउको धन्दा चलाउनेहरूको पनि यहाँ कुनै कमी छैन । मान्छेको असली रूप भनेको संकटका बेला परिक्षण गरिन्छ । महामारीले ज्यान जोगाउनसमेत हम्मे हम्मे परेको समयमा कालोबजारी गर्ने र कमाउको धन्दा चलाउनेहरूको बिगबिगी नै छ ।

निषेधाज्ञाले बजार पसल बन्द रहेको र कतै सीमित समय खुल्ने भएकाले व्यवसायीले उपभोग्य सामग्रीमा कृतिम अभाव सृजना गर्दै कालोबजारी गर्न थालेका समाचारहरु छयाप छयाप्ती आइरहेका छन । अत्यावश्यक खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुहरूमा मनोमानी मूल्य वृद्धि भएको छ। संकटका समयमा उपभाक्तालाई दोब्बर मूल्यसमेत हालेर किन्न बाध्य पारिएको छ। यति बेला सबै निकायको ध्यान महामारी नियन्त्रणमा छ। सस्तो मूल्यमा आयात गर्ने र अभाव भएको भन्दै महँगो मूल्यमा बेच्दा उपभोक्ता ठगिन बाध्य भएका छन ।

केही जिल्लाका बजार पसलमा अनुगमन नभएका होइनन्, भइरहेका छन तर बजार पसलमा अनुगमन नियमित हुन सकेको छैन । कालोबजारीले उपभोक्तालाई आर्थिक भार थपिँदो छ। प्रहरीको सक्रियतामा औषधिमा कालोबजारी गर्ने र नक्कली औषधि बेच्ने गिरोह पक्राउ परेका समाचार पनि आएका छन । प्रहरीको सक्रियता नबढेको पनि होइन ।

कोरोना कहरको असरले भोकभोकै बसिरहेका नागरिकलाई कसरी राहत दिने र अत्यावश्यकीय वस्तुको सुलभ पूर्ति गर्ने विषयमा कुनै पनि राजनीतिक दल, अधिकारकर्मीको ध्यानाकर्षण भएको देखिदैन । कालोबजारी गर्नेलाई कुनै कसर बाँकी नराखी कारबाहीको दायरामा ल्याउनुपर्छ। महामारीको संकटमा एकले अर्कालाई साथ दिनुपर्छ। सरोकारवाला निकाय चनाखो र उपभोक्ता सचेत बनौं।

Copy link
Powered by Social Snap