नेपालका सवै कम्युनिष्ट घटकहरु मिल्ने की ?


लेखक : admin      ३ बैशाख २०७८, शुक्रबार ०८:२५ मा प्रकाशित     
नेपालका सवै कम्युनिष्ट घटकहरु मिल्ने की ?

डा.डिआर उपाध्याय,

पटक पटकको राजनीतिक परिवर्तन पछि देशमा गणतन्त्र र लोकतन्त्र आएको छ । यसका साथै हामी अहिले संघीयताको अभ्यासमा छौ । यो संघीयता देशका लागी अलि बढी महंगो भयो की भन्र्ने बहस पनि चलेको छ ।

हामीले देखिरहेका छौ की आज यो व्यवस्था आए पछि राजनीतिक दल र तिनका नेताहरु मोटाउने र सर्वसाधारण जनता ऋण बोक्ने बाहेक अरु केहि भएको छैन । राजनीतिक व्यवस्था परिवर्तन हुनु समयको माग थियो । तर राजनीतिक व्यवस्था परिवर्तन भए पछि जनताले जे अपेक्षा गरेका थिए , त्यो भने पाउन सकेका छैनन् । यो नै दुखद कुरा हो । नेपाली जनता आफैं राजनीतिक परिवर्तनका लागी लडेर आएका हुन ।

सत्तारुढ दल नेकपा एमालेले देश र जनताका लागी जे जति सेवा गर्नु पर्ने थियो , त्यो भने गर्न सकेको छैन । कारण के हो भने नेकपा एमाले भित्र आन्तरिक विवाद चरम रुपमा बढेर गएको छ । यसले देश र जनतालाई मात्र होइन , एमालेलाई समेत संकटमा पारेको छ । नेकपा एमाले मिलेर जानु पर्नेमा विावाद गर्नु त्यति राम्रो कुरा होइन ।

आम जनता नेकपा एमालेको कार्यशैली देखेर निराश बनेका छन । जनता निराश हुनु भनेको व्यवस्था माथिको नै खतरा हो । सके सम्म जनतामा निराशा आउन दिनु हुदैन । यो कुरा म बारम्वार भनिरहेको छु । आज देश बिचौलियाको घेराभित्र छ । यसरी देशको उन्नति , प्रगति हुदैन । देश बनाउने सोच सवैमा हुनु पर्छ । आज देशमा सार्वजनिक सेवा प्रवाह त्यति सन्तोषजनक भैरहेको छैन ।

आफ्ना मान्छेलाई खुसी बनाउने बाहेक अरु केहि देखिएको छैन । यसरी जनताको भलाई हुदैन । जनताले लडेर ल्याएको व्यवस्था हो यो । नेताहरुले मनपरी गर्न पाइदैन । जनताले बिश्वास गरेर नेतालाई चुनाव जिताउँछन । तर चुनाव जिति सके पछि जनतालाई बिर्सने बानी नेताहरुको छ । यसले गर्दा देशमा असन्तुष्टि बढ्ने गर्छ ।

जनप्रतिनिधिहरुले आफना जनतालाई सन्तुष्टि हुने खालको काम गरेर देखाउनु पर्छ । त्यसो भयो भने मात्र लोकप्रियता बढन सक्छ । जनप्रतिनिधिहरु दलाल र बिचौलियाको घेरा टोडेर अघि बढनु पर्छ । त्यसो भयो भने मात्र जनताले राहत पाउँछन । बेरोजगारलाई काम दिने भनियो, तर बेराजगारले काम पाएका छैनन् । अझै बेरोजगारी समस्या बढ्दै गएको छ । दलकै आसे पासे नाता गोता आफना कार्यकर्ता बाहेक अरुले रोजगार पाउँन धेरै मुस्किल छ नेपालामा । देशमा जति राजनीतिक परिवर्तन भए पनि जनताको अवस्था हिजो जस्तो थियो आज पनि त्यस्तै छ ।

सरकारी प्रशासन जनताको पहुँच बाहिर छ । सेवा कतै निःशुल्क छैन। अस्पतालहरू, शैक्षिक संस्थाहरू बिचौलिया र व्यापारीको घेरामा छन । देशमा जे जति परिवर्तन भयो । त्यसको प्रतिफल जनताले पाउन सकेका छैनन् । संसारबाट कम्युनिस्ट पतन भएका थुप्रै उदाहरण छन । कारण के हो ? नेतृत्वको व्यक्तिगत टकराव । कम्युनिष्टले बिकास गरेको देश भनेको चीन हो । बिश्वको तुलनामा चीन कसरी अघि बढ्यो । चीनमा अनुशासन , इमानदारिता र सुशासन छ । उद्योग र आर्थिक क्रान्ति नै भएको छ र पुँजीवादी अमेरिकासँग टक्कर गर्न सकेको छ । नेपालका कम्युनिस्टहरू नामधारी भए, व्यवहार र नीति कम्युुनिस्ट भएन ।

नैतिकता, इमानको अभाव हुनु भनेको कम्युनिज्म हराउनु हो । जनताको टाउकोमा ऋण र महँगीको भार थपिएको छ । कम्युनिष्ट भनेको सर्वहारा बर्गका जनताको सेवा गर्ने पार्टी हो भनेर भनियो । तर ब्यवहारमा त्यस्तो देखिएन । त्यही बिश्वासमा जनता कम्युनिष्ट पार्टीमा लागे । अव कम्युनिष्टहरुले सोच्ने बेला आएको छ । नेपालका सवै कम्युनिष्ट घटकहरु मिलेर एउटै कम्युनिष्ट पार्टी बनाइ देशमा बिकासको फडको मार्नु पर्ने देखिन्छ । फुटेर टुटेर कुनै कम्युनिष्ट पार्टीलाई फाइदा छैन ।

Copy link
Powered by Social Snap