पब्लिक सूचना
हेटौँडा, असार ४ गते । मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलाशयको सतह घटेको छ । देशको एक मात्र जलाशययुक्त कुलेखानी आयोजनाको इन्द्रसरोवरमा पानीको सतह घटेपछि अत्यावश्यक समयमा भन्दा बाहेक कुलेखानी जलविद्युत् आयोजना सञ्चालन नगरिने भएको हो ।
इन्द्रसरोवरमा पानीको सतह समुद्री सतहबाट एक हजार चार सय ८५ दशमलव ०१ मिटरसम्म रहेको छ । हिजो सोमवार साँझ सम्म एक हजार चार सय ८४ दशमलव ९८ मिटरसम्म मापन गरिएकोमा पानी परेपछि मङ्गलवार बिहान थप पानी जम्मा भएको कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार २०५८ साल पछि अहिले पानीको सतह घटेको हो । कुलेखानीबाट आपत्तकालिन समयमा मात्रै बिजुली उत्पादन गरिने उहाँको भनाई छ ।
पछिल्लो समय पानी कम परेकाले नेपालको जलविद्युत्को महत्त्वपूर्ण ब्याक अप आयोजनाका रूपमा रहेको कुलेखानीमा पानीको सतह घटेको हो । विशेष गरी सुक्खा र गर्मी याममा खोला, नदीको पानी कम हुँदा विद्युत् आपूर्ति र मागलाई सन्तुलन कायम गर्न र विद्युत् अधिक माग भएको समय तथा भोल्टेज कम र बढी हुँदा विद्युत् वितरण प्रणालीलाई व्यवस्थित गर्न कुलेखानी जलविद्युत् आयोजनालाई प्रयोग गरिने गरिएको छ ।
समुद्री सतहबाट एक हजार चार सय ८३ मिटरसम्म पानी पुगेपछि बिजुली उत्पादन गर्न नमिल्ने उहाँको भनाइ छ । पछिल्लो समयमा कुलेखानी विद्युत् आयोजना नियमित चलाउनुपरेको र पानी पनि नपरेका कारण इन्द्रसरोवरमा पानीको सतह घटेको हो । समुद्र सतहबाट एक हजार पाँच सय ३० मिटरसम्म पानी जम्मा गर्न सकिन्छ ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend