logo
  • आइतबार, असोज १८ २०८३

ब्रह्माण्डीय महायज्ञमा १२ करोड सङ्कलन


  • पब्लिक सूचना
  • आइतबार, असार ३ २०८१

बागलुङ, असार २ गते । गत फागुनमा सम्पन्न भएको बागलुङको सर्वसिद्धधाम पञ्चकोटमा आयोजित ब्रह्माण्डीय महायज्ञमा १२ करोड १५ लाख रुपियाँ सङ्कलन भएको छ । महायज्ञ मूल आयोजक समितिले गत फागुन ९ गतेदेखि २३ गतेसम्म सञ्चालित ब्रह्माण्डीय महायज्ञको आयव्यय सार्वजनिक गरेको छ ।

महायज्ञमा कुल आम्दानी १२ करोड १५ लाख ५५ हजार ९ सय ७४ र ४ करोड २२ लाख ५७ हजार ४ सय ९८ रुपियाँ खर्च भएको महायज्ञ मूल आयोजक समितिका प्रवक्ता सुदर्शन प्रपन्नाचार्यले जानकारी दिनुभयो ।

महायज्ञबाट सङ्कलित रकम सर्वशिद्धिधाम पञ्चकोटको गुरुयोजना अनुरूप निर्माणाधीन विश्वशान्ति गण्डकी कलशलाई पूर्णता दिन र अन्य भौतिक संरचना निर्माणमा खर्च गरिने प्रवक्ता प्रपन्नाचार्यले बताउनुभयो । मुक्तिनाथ पीठाधीश्वसर स्वामी कमलनयनाचार्यको सङ्कल्पमा पञ्चकोट धाम स्थापनाको १० औँ वार्षिकोत्सव पारेर पन्ध्र दिनसम्म सञ्चालित ब्रह्माण्डीय महायज्ञबाट वैदिक परम्पराको प्रवर्द्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि, सनातन संस्कृतिको संरक्षणका साथै नेपालको धार्मिक पर्यटन विकासमा टेवा पुगेको विश्वास गरिएको छ ।

महायज्ञमा २५ फिटको मौलो बनाइ विधिपूर्वक पूजन गरी प्रतिस्थापन गरिएको थियो । करिब २१ हजार पाँचसय ५५ क्विन्टल धानले मौलो पुरिएको थियो । महायज्ञमा करिब चारलाख भक्तजनहरू सहभागी भएको अनुमान गरिएको छ ।

पञ्चकोटमा हालसम्म ७० करोड लगानी भइसकेको पञ्चकोट बृहत्तर विकास समितिका उपाध्यक्ष समेत रहनुभएका बागलुङ नगरपालिका ६ का वडाध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिनुभयो । बागलुङ नगरपालिका–६ मा पर्ने पञ्चकोट बागलुङ बजारदेखि छ किलोमिटर उत्तरमा छ । सडकको सहज पहुँचका कारण बागलुङ कालिका दर्शन गर्न आउने तीर्थालुमध्ये अधिकांश यहाँ आउने गरेको पाइन्छ । त्यस्तै मुक्तिनाथ जाने धार्मिक पर्यटक पनि सकेसम्म पञ्चकोट पुग्ने गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend