logo
  • आइतबार, असोज १८ २०८३

प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्रीको शपथ समारोहमा सरिक


  • पब्लिक सूचना
  • सोमबार, जेष्ठ २८ २०८१

काठमाडौँ, जेठ २८ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुनुभएको छ ।

प्रधानमन्त्री  प्रचण्ड भारतीय राष्ट्रपति भवनको प्राङ्गणमा शनिबार साँझ आयोजित विशेष समारोहमा सहभागी हुनुभएको  हो ।

प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति द्रोपदी मुर्मुले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री प्रचण्ड, श्रीलङ्काका राष्ट्रपति रणील विक्रमासिङ्गे, मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, मौरिससका प्रधानमन्त्री प्रबिन्द जुग्नौथलगायत विशिष्ट अतिथि उपस्थित हुनुहुन्थ्यो ।

यसैगरी, समारोहमा भारतका विभिन्न राजनीतिक दलका नेता तथा लब्धप्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता थियो । सोही समारोहमा भारतका नवनियुक्त मन्त्रीहरुले समेत पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।

प्रधानमन्त्री प्रचण्डले भारतका प्रधानमन्त्री मोदीको निमन्त्रणामा शपथग्रहण समारोहमा सहभागी हुनुभई शुभकामना व्यक्त गर्नुभएको छ ।

भारतमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनले बहुमत ल्याएपछि नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि आइतबार प्रधानमन्त्रीका रूपमा शपथ लिनुभएको हो ।

भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) का संसदीय दलका नेता मोदीले आइतबार नयाँदिल्लीमा विभिन्न राष्ट्रका प्रमुख तथा सरकार प्रमुखको उपस्थितिमा आयोजित विशेष समारोहमा शपथग्रहण गर्नुभएको हो ।

मोदी सन् २०१४ मा पहिलो पटक र सन् २०१९ मा दोस्रो कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित हुनुभएको थियो । भाजपासहितको राष्ट्रिय लोकतान्त्रिक गठबन्धनले लोकसभाका ५४३ मध्ये २९३ सिटमा जित हासिल गरेपछि उहाँकै नेतृत्वमा सरकार गठन भएको हो ।

यो पनि पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर)

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान (फोटो फिचर)

प्रधानमन्त्री दाहाल आज अपराह्न भारत भ्रमणमा जानुहुँदै

प्रधानमन्त्री दाहाल आज अपराह्न भारत भ्रमणमा जानुहुँदै

नेहरूपछि मोदीको तीन कार्यकाल

सन् १९५० मा जन्मिनुभएका प्रधानमन्त्री मोदी वाराणसीबाट तेस्रो पटक विजयी हुनुभयो । उहाँले तेस्रो कार्यकाल सुरु गरेसँगै भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूको तीन कार्यकालसँग बराबरी भएको छ ।

भारतमा लोकतन्त्र प्राप्तिपछि तत्कालीन प्रधानमन्त्रीद्वय इन्दिरा गान्धी र मनमोहन सिंह दुई-दुई पटक प्रधानमन्त्री बन्नुभयो । मोदी नेतृत्वको गठबन्धनले सन् २०१४ मा भाजपाको २८२ सहित ३३६ सिट र सन् २०१९ मा भाजपाको ३०३ सहित ३५२ सिटमा जित हासिल गरेको थियो ।

यस पटक पनि भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको ‘भारतीय राष्ट्रिय विकास समावेशी (इन्डिया) गठबन्धन’ र भाजपा नेतृत्वको एनडिएबिच प्रतिस्पर्धा भएको थियो । कांग्रेसको ९९ सहित इन्डिया गठबन्धनले २३४ सिटमा जित हासिल गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend