logo
  • आइतबार, असोज १८ २०८३

बाँकेको विभिन्न सामुदायिक वनमा डढेलो, ५ हजार हेक्टर बढी क्षेत्रफलमा आगो सल्कियो


  • पब्लिक सूचना
  • सोमबार, बैशाख २४ २०८१

काठमाडौं । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनमा आगो लागेको छ । वन क्षेत्रको पाँच हजार एक सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको हो ।

जिल्ला वन कार्यालय, बाँकेका अनुसार नेपालगञ्ज सव डिभिजन कार्यालयअन्तर्गतका १०, नरैनापुर सव डिभिजनअन्तर्गतका नौ, सिक्टा सव डिभिजनका १८, राप्तीसोनारी सव डिभिजजनका चार, कोहलपुर सव डिभिजनका २२ र शम्शेरगञ्ज सव डिभिजनको एउटा चक्ला वनसहित गरी कूल ७६ सामुदायिक वनमा डढेलो लागेको छ ।

बाँकेमा एक सयको हाराहारीमा सामुदायिक वन छन् । जिल्ला वन कार्यालयका सहायक वन अधिकृत तथा सूचना अधिकारी वीरेन्द्र रोकाले अधिकांश स्थानमा डढेलो नियन्त्रणमा आएको उल्लेख गर्दै डढेलो लागेको वनमा सात सय लिटर ट्याङ्की भएको अग्नि नियन्त्रक गाडीमार्फत आगो निभाइएको जानकारी दिए ।

उनले डढेलो नियन्त्रण गर्न आठ अग्नि हेरालुसमेत परिचालन गरिएको बताए । डढेलो नियन्त्रण गर्न चक्ला वनमा ३० किलोमिटर र विभिन्न सामुदायिक वनमा २० किलोमिटर अग्निरेखा निर्माण गरिएको छ । लामो समयको सुक्खा खडेरी, जङ्गलमा मौवा टिप्न जाने बहानामा र चरिचरण गर्न जानेहरुको लापर्वाहीका कारण डढेलो लागेको अनुमान गरिएको छ ।

राप्तीसोनारी–१ को सतिभवानी र गाइलेख सामुदायिक वनमा सबैभन्दा बढी दुई सय ५० देखि दुई सय ८० हेक्टर क्षेत्रफलमा डढेलो लागेको थियो भने सबैभन्दा कम कोहलपुरको बागेश्वरी सामुदायिक वनमा एक दशमलव २० हेक्टर क्षेत्रफलमा डढेलो लागेको सहायक वन अधिकृत रोकाले बताए ।

डढेलोका कारण खरायो, सर्प, विभिन्न प्रजातिका चरालगायत मरेका छन् । शम्शेरगञ्जको चक्ला वन तथा कोहलपुरको रानी सामुदायिक वन क्षेत्रमा लागेको आगो १२ घण्टाभन्दा बढी समय लगाएर निभाइएको थियो ।

आवश्यक परेको स्थानमा कोहलपुर, नेपालगञ्ज तथा नरैनापुरको बारुणयन्त्रको समेत सहयोग लिइएको थियो । शम्शेरगञ्ज क्षेत्रमा डिभिजन वन कार्यालयको अग्नि नियन्त्रक सवारी साधन चौबिसै घण्टा तैनाथ राखिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend