logo
  • आइतबार, असोज १८ २०८३

चलचित्र विकास बोर्डले निकाल्यो आर्थिक वर्ष २०७९/८० मा प्रदर्शनमा आएका सबैभन्दा धेरै कमाउने १० नेपाली फिल्म


  • पब्लिक सूचना
  • शनिबार, साउन ६ २०८०

चलचित्र विकास बोर्डले आर्थिक वर्ष २०७९/८० मा प्रदर्शनमा आएका नेपाली र विदेशी फिल्महरूको आधिकारिक कमाइ सार्वजनिक गरेको छ।

बोर्डले बिहीबार सूची जारी गर्दै गत आर्थिक वर्षमा ५७ वटा नेपाली फिल्म प्रदर्शन भएको जानकारी दिएको छ। यी फिल्मले ७६ करोड ७२ लाख ५६ हजार ग्रस कमाएको छ। तर १० वटा फिल्मले मात्रै १ करोडमाथि कमाइ गरेका छन्।

छक्का पन्जा ४
दीपक र दीपाको फिल्म ‘छक्का पन्जा ४’ धेरै कमाउने नेपाली फिल्म बनेको छ। ६ लाख २९ हजार टिकट बिक्री गर्दै फिल्मले १७ करोड ५२ लाखबढी कमाएको छ।

हेमराज बिसीले निर्देशन गरेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ।

‘छक्का पन्जा’ को सिरिज भएको हुँदा फिल्म प्रदर्शनअघि नै चर्चामा थियो।

जारी
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्म ‘जारी’ सयौं दिन मनाउने तयारीमा छ।

१७ करोड १७ लाखबढी कमाउँदै ‘जारी’ धेरै कमाउने दोस्रो फिल्म बनेको छ। ‘जारी’ को ६ लाख १९ हजार टिकट बिक्री भएको छ।

बासुरी फिल्म्स ब्यानरको फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणी नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ। यो फिल्म जारी प्रथामा आधारित छ।

प्रेमगीत ३
सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म ‘प्रेमगीत ३’ धेरै कमाउने तेस्रो फिल्म बनेको छ। २ लाख ६९ हजार टिकट बिक्री गर्दै फिल्मले ७ करोड ७० लाखबढी कमाएको छ।

प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ। फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन्।

महापुरुष
प्रदीप भट्टराईले निर्देशन गरेको फिल्म ‘महापुरुष’ धेरै कमाउने चौथो फिल्म हो। २ लाख ४७ हजार टिकट बिक्री गर्दै फिल्मले ७ करोड ३८ लाखबढी कमाएको छ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आर्चाय, रविन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, गौरी मल्ल, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्यलगायत कलाकारको अभिनय छ।

दुई नम्बरी
दीपेन्द्र लामाले निर्देशन गरेको फिल्म ‘दुई नम्बरी’ धेरै कमाउने पाँचौ फिल्म हो। १ लाख ४१ हजार टिकट बिक्री गर्दै फिल्मले ३ करोड ८४ लाखबढी कमाएको छ।

दुई साथीको मित्रतालाई देखाइएको फिल्ममा सौगात मल्ल, दयाहाङ राई। उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्धि तामाङ, पुष्कर गुरुङ, शारदा गिरी, कविता आले, प्रकाश घिमिरे, सुष्मा निरौला, श्रेयांश पौडेल, विश्वास गुरुङ, डिबी गुरुङ, राजु थापामगर, सागर शाह ठकुरी, सतिश सिंह खत्री, गणेश बस्याल, राजकुमार राईलगायत कलाकारको अभिनय छ। फिल्मको कथा निर्देशक लामाले नै तयार पारेका हुन्।

फूलबारी
रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’ धेरै कमाउने छैटौं फिल्म हो। १ लाख २६ हजार टिकट बिक्री गर्दै फिल्मले ३ करोड ५३ लाखबढी कमाएको छ।

यशोदा फिल्म्सको ब्यानरबाट निर्माण भएको फिल्ममा विपिन कार्की, अरुणा कार्की,  दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, अनुपम शर्मा, सोमनाथ खनाल, मनिष ढकाल, लोकेन्द्र लेखकलगायत कलाकारको अभिनय छ।

झिंगेदाउ
ज्ञानेन्द्र देउजाले निर्देशन गरेको फिल्म ‘झिंगेदाउ’ धेरै कमाउने सातौं नेपाली फिल्म हो। १ लाख २२ हजार टिकट बिक्री गर्दै फिल्मले ३ करोड ४१ लाखबढी कमाइ गरेको छ।

के घर के डेरा
दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’ धेरै कमाउने आठौं नेपाली फिल्म हो। ८९ हजार ७ सय टिकट बिक्री गर्दै फिल्मले २ करोड ६५ लाखबढी कमाइ गरेको छ।

प्रेमगीत ३ (हिन्दी डब)
सन्तोष सेनले निर्देशन गरेको फिल्म ‘प्रेमगीत ३’ को हिन्दी संस्करणलाई पनि नेपाली फिल्मको सूचीमा राखिएको छ। यो धेरै कमाउने नवौं नेपाली फिल्म हो।

८३ हजार १ सय टिकट बिक्री गर्दै फिल्मले २ करोड २७ लाखबढी कमाइ गरेको छ।

प्रकाश
दिनेश राउतले निर्देशन गरेको फिल्म ‘प्रकाश’ धेरै कमाउने दसौं नेपाली फिल्म हो। ५७ हजार टिकट बिक्री गर्दै फिल्मले १ करोड ७५ लाखबढी कमाइ गरेको छ।

फिल्ममा प्रदीप खड्का र दीया मास्केको मुख्य भूमिका छ।

धेरै कमाइ गर्ने नेपाली फिल्मको सूचीमा दयाहाङ राई अभिनीत ४ फिल्म परेका छन्। उनले ‘जारी, दुई नम्बरी, फूलबारी र के घर के डेरा’ मा अभिनय गरेका थिए।

उनीपछि प्रदीप खड्का अभिनीत फिल्म ३ फिल्म धेरै कमाइ गर्ने नेपाली फिल्मको सूचीमा परेका छन्। उनका फिल्म ‘प्रेमगीत ३’, ‘प्रेमगीत ३’ (हिन्दी डब) र ‘प्रकाश’ उक्त सूचीमा परेका हुन्।

केही ठाउँमा बक्स अफिस जडान नगरिएको हुँदा बोर्डको उक्त डाटामा घटबढ हुन सक्ने बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend