logo
  • आइतबार, असोज १८ २०८३

मनाङमा उम्मेदवारी फिर्ता लिन एमाले र राप्रपाको निवेदन


  • पब्लिक सूचना
  • शुक्रबार, माघ ९ २०८२

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरूले मनाङमा उम्मेदवारी फिर्ता लिन निवेदन दिएका छन्।

मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार केही बेरअघि एमालेका उम्मेदवार पोल्देन छोपाङ गुरूङ र राप्रपाका उम्मेदवार कुविरसिंह गुरूङले आफ्नो उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका हुन्।

‘उहाँहरूले केही बेरअघि उम्मेदवारी फिर्ता गरिपाऊँ भनेर निवेदन दिनुभएको छ, त्यो निवेदन दर्ता भएको छ, दिउँसो १ बजेपछि यसबारे निर्णय हुन्छ,’ मुख्य निर्वाचन अधिकृत पौडेलले सेतोपाटीसँग भने।

निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको कार्यसूची छ।

चिठ्ठा थुतेर कांग्रेस र एमालेले गरे उम्मेदवार भागबन्डा्

मनाङमा कांग्रेस र एमालेका उम्मेदवारहरूले चिठ्ठा थुतेर कसको उम्मेदवारी कायम रहने निर्क्यौल गरेका थिए।

एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङका अनुसार कांग्रेसका उम्मेदवार टेकबहादुर गुरूङ र एमालेका उम्मेदवार पोल्देन छोपाङबीच त्यसरी संघ र प्रदेशमा उम्मेदवारी बाँडफाँड भएको हो।

यसबारेमा एमालेलाई औपचारिक जानकारी भने नआएको उनको भनाइ छ।

‘चिठ्ठा थुतेर संघ र प्रदेशमा उम्मेदवारी टुंग्याएको भन्ने कुरा सुनियो, पार्टीलाई औपचारिक जानकारी छैन, पार्टीको निर्देशनमा यो काम भएको पनि होइन, दुई उम्मेदवारको आपसी समझदारीकै कुरा हुन सक्छ, यसबारे हामी बुझिरहेका छौं,’ गुरूङले सेतोपाटीसँग भने, ‘मैले यसबारे थाहा पाएपछि त्यसो नगर्न भनेको छु।’

मनाङमा प्रदेश सभामा दुई सिट छ। तीमध्ये एक रिक्त छ। यहाँबाट २०७९ मा स्वतन्त्र उम्मेदवारी दिएका राजिव गुरूङको सांसद पद सर्वोच्च अदालतको आदेशपछि रिक्त छ भने निर्वाचन आयोगले चुनाव गराउने मिति तोके पनि स्थगित गरेको थियो।

एमाले मनाङका नेताहरूका अनुसार अब हुने प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसले एमालेलाई दुई क्षेत्रमा सहयोग गर्ने समझदारी छ।

यसबीच राप्रपाका उम्मेदवारले उम्मेदवारी फिर्ता लिन किन निवेदन दिए भन्नेबारे खुलिसकेको छैन।

प्रवक्ता मोहनकुमार श्रेष्ठले पार्टीका उम्मेदवारले मनाङमा किन उम्मेदवारी फिर्ता लिन निवेदन दिएका हुन् भन्नेबारे पार्टीलाई जानकारी नरहेको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend