logo
  • आइतबार, असोज १८ २०८३

जाडो छल्न बेँसी झरेका मुस्ताङवासी भोट हाल्न फागुनमै गाउँ फर्किने तयारीमा


  • पब्लिक सूचना
  • बुधबार, पुष २३ २०८२

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिका अन्तर्गत छोसेरका ६७ वर्षीय छेप्टेङ गुरुङ चिसोबाट बच्नका लागि बेँसी झरिसक्नुभएको छ । बिहान र बेलुकीको समयमा अत्यधिक चिसोले गाउँघरमा बस्न नसक्ने अवस्था भएपछि जिल्लाबाहिर जानुभएका गुरुङले फागुन महिनामा गाउँ फर्किने योजना बनाउनुभएको छ । कृषि र पशुपालनमा सक्रिय गुरुङ जस्तै अर्का ७२ वर्षीय वङ्दी गुरुङले जाडो फालेर आसन्न प्रतिनिधि सभा निर्वाचनमा गाउँ फर्किने सोच बनाउनुभएको छ । अत्यधिक चिसोले जिल्ला छोड्नुभएका छोसेरकै टस्सी गुरुङले चैत महिना फर्किने तयारी गरे पनि फागुनमा हुने आसन्न निर्वाचनमा भोट हाल्न अगाडि नै गाउँ फर्किने मन बनाएको उहाँले बताउनुभयो ।

गुरुङले भन्नुभयो, “भाग्य निर्माण गर्ने चुनाव हुँदै छ । अहिले चिसोका कारण घरबाहिर जानु परे पनि भोट हाल्ने गरी सबै परिवार गाउँ फर्किन्छौँ ।”  गाउँको विकासको योजना हाल्ने, गाउँका समस्या समाधानका लागि प्रयास गर्नेलाई निर्वाचनमा भोट हालेर सघाउने विचार गरेको वङ्दी गुरुङको भनाइ छ । गुरुङले भन्नुभयो, “राम्रो काम गर्नेलाई हामीले भोट हाल्ने हो । भोट माग्न आउने नेतालाई उहाँहरूले विगतमा गरेको असल कामका बारेमा यस पटक सोधपुछ गर्ने विचार गरेका छौँ । चित्त बुझ्यो भने भोट हाल्छौँ । चित्त बुझेन भने अर्को नेतालाई छान्छौँ ।”

उपल्लो मुस्ताङको ल्होमन्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका झन्डै ८० प्रतिशत स्थानीयवासी चिसो छल्न बेँसी झरिसकेको अवस्थामा अहिले गाउँ सुनसान छ । गाउँबाट झरेकाहरू पोखरा, काठमाडौँलगायत देशका विभिन्न जिल्लामा पुगेका छन् । फागुन महिनामा मौसम पनि सुधार हुने भएकाले अधिकांश दोस्रो सातासम्म गाउँ फर्किन्छन् । यस पटक प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते भएकाले चैत, वैशाख महिनामा फर्किनेले समेत भोट हाल्न फागुनमा गाउँ आउने योजना बनाएका छन् ।

नेपाल–चीन जोड्ने उत्तरी कोरला नाकास्थित दशगजा क्षेत्रमा व्यापार गर्ने युवा पेमा छिरिङ गुरुङले चुनावमा दलका उम्मेदवारले नै मतदाता खोज्दै आउने गरेको बताउनुभयो । युवा व्यवसायी गुरुङले भन्नुभयो, “थोरै मतदाता भएकाले सबैको नजरमा परिन्छ, भोट माग्न सबै आउने भए पनि योग्य उम्मेदवारलाई मात्र यो पटक भोट हाल्ने हो ।”

यस पटक कोरला नाका व्यावसायिक रूपमा सञ्चालन तथा सडक सञ्जालसहित स्थानीयस्तरमा विकास निर्माणले समेत गति लिएको अवस्थामा मुस्ताङवासी उत्साहित नै छन् । जाडो छल्न जिल्लाबाहिर भएका मतदातासँग राजनीतिक दलका नेताहरू अनौपचारिक भेटघाटमा व्यस्त छन् । मुस्ताङमा ३९ मतदान स्थलमा कुल ११ हजार ३२८ जना मतदाता रहेका छन् । जिल्लामा निर्वाचन कार्यालयलेसमेत निर्वाचनको तयारी सुरु गरेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend