logo
  • आइतबार, असोज १८ २०८३

कोहलपुर नगरपालिकामा विद्यालय वरिपरी ५० मिटरभित्र मदिरा र सुर्ती बिक्रीमा प्रतिबन्ध


  • पब्लिक सूचना
  • आइतबार, भाद्र २२ २०८२

बाँकेको कोहलपुर नगरपालिका भित्र रहेका विद्यालय क्षेत्रको ५० मिटर वरिपरी मदिरा र सुर्ती बेच्न नपाइने भएको छ ।

नगरपालिकाले ‘कोहलपुर नगरपालिका मदिरा नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७९’ लाई अभिभावकको मागपछि कडाईका साथ पालना गर्न सुरु गरेकाले सोही कार्यविधि अनुसार विद्यालय क्षेत्रको ५० मिटर वरीपरी मदिरा र सुर्ती बेच्न नपाइने भएको हो ।

कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले कोहलपुर नगरपालिकामा ८८ वटा विद्यालय रहेको जनाउँदै ती सबै विद्यालयको ५० मिटर वरिपरी मदिरा, सुर्तीजन्य पदार्थ, बिक्री  गर्न नपाउने गरी कडाई सुरु गरिएको बताउनुभयो ।

उहाँले पालिका भित्र रहेका विद्यालय हाता भित्र र बाहिर करिब ५० मिटर कुनै पनि मदिरा तथा सुर्ती बेच्न नपाउने गरी प्रहरीको सहयोग लिएर कडाई सुरु गरिएको बताउनुभयो ।

पछिल्लो अवस्थामा बालबालिकाहरुले मदिरा, सुर्ती र लागुऔषध प्रयोग गरिरहेको गुनासाहरु बढ्दै गएको र विद्यालयको वरिपरी नै बिक्री गरेको भन्ने सुनिन आएकाले ‘कोहलपुर नगरपालिका मदिरा नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९’ लाई कडाईका साथ पालना गर्न सुरु गरिएको कोहलपुर नगरपालिकाले जनाएको छ ।

उपप्रमुख सुवेदीले उपरोक्त गुनासाहरुका आधारमा मदिरा र सुर्ति बिक्री नियन्त्रण कार्य तत्काल सुरु गर्न लागेको बताउनुभयो ।
उहाँले कार्यविधि अनुसार काम अगाडि बढाउन नगर प्रहरी, नेपाल प्रहरी लगायतलाई अनुरोध गरिसकेको पनि बताउनुभयो ।

कोहलपुर नगरपालिका ३ मा रहेको जनता माविका प्रधानाध्यापक चन्द्र बहादुर खत्रीले विद्यालय वरिपरि रहेका मदिरा तथा सुर्तिका पसलहरुलाई तत्काल बन्द गराउनु पर्ने माग गर्दै त्यसबाट विद्यार्थिलाई निकै नकारात्मक प्रभाव परिरहेको बताउनुभयो ।

सोही प्रकारले सगरमाथा ज्ञानपुञ्ज माविका प्रधानाध्यापक मोहन चौधरीले पनि विद्यालय वरिपरि सय मिटर टाढासम्म मदिरा र सुर्ति बिक्री गर्न नपाइने गरी नियम बनाउनुपर्ने माग गर्नुभयो ।

सोही प्रकारले जन ज्ञानज्योतिका सहायक प्रधानाध्यापक राम प्रसाद चापागाई, नेकपा माओवादी केन्द्र कोहलपुरका नगर अध्यक्ष बल बहाुदर खड्का अविरल, कोहलपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष चण्डी गैरे लगायतले पनि २०७९ सालमै बनाइएको ‘कोहलपुर नगरपालिका मदिरा नियन्त्रण तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७९’ लाई कडा रुपमा कार्यान्वयन गर्न माग गर्नुभएको छ ।

कोहलपुर इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक लक्ष्मी खनालले विद्यालयको वरिपरी मदिरा तथा सुर्तिको बिक्री रोक्न नगरपालिकाले तयार पारेको कार्यविधिलाई कडाईका साथ कार्यान्वयन गरिने प्रतिवद्धता जनाउनु भएको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend