logo
  • आइतबार, असोज १८ २०८३

सुक्खाग्रस्त मधेशमा झरि सुरु, किसानमा आशा पलायो


  • पब्लिक सूचना
  • मंगलबार, साउन २० २०८२

लामो खडेरीका बिच नेपालको अन्न भण्डार क्षेत्र मधेशमा शनिबारदेखि वर्षा हुन थालेपछि देशभर हर्ष छाएको छ । वर्षा सुरु भएपछि कतिपय स्थानका किसानले पूजाआजा गरेर खुसियाली मनाएका छन् । मनसुन सुरु भएको दुई महिना बित्दा पनि राम्रो वर्षा नभएपछि सरकारले मधेश प्रदेशलाई विपत् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्दै राहत तथा खडेरीजन्य विपत् व्यवस्थापन कार्य थालेको थियो ।

गत साउन ७ गते सरकारले उक्त घोषणा गरेको थियो । त्यसअघि असार १८ गते प्रदेश सरकारले मधेशलाई सुक्खाग्रस्त क्षेत्र घोषित गरेको थियो ।  मध्य असारमा सिँचाइ लगाएर रोपिएका धानका खेतमा धाँजा फाटेको थियो । कतिपय ठाउँमा रोपो सुकेर टुप्पो पराल बनेका थिए । नकाटिएका धानका ब्याड काम नलाग्ने भएर बिग्रेपछि किसान पीडामा परेका थिए । त्यति मात्र हौइन, सुक्खा लागेपछि स्थानीयका चापाकल र स्यालो ट्युबेलको पानी सुक्दा पिउने पानीको चर्को अभाव भएको थियो । तीन दिन यताको वर्षाले मधेशको माटो भिज्न थालेको छ भने सुकेका चापाकलमा सोमबारदेखि पानी आउन थालेको स्थानीयवासीले बताएका छन् । मधेशका आठ वटा जिल्ला बारा, पर्सा, रौतटह, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरीका अधिकांश भूभागमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् डेबिड ढकालका अनुसार मधेश प्रदेशमा विगत तीन दिन यता निरन्तर वर्षा भइरहेको छ । आइतबार र सोमबार मधेशका केही भेगमा भारी वर्षासमेत रेकर्ड भएको छ । उहाँले भन्नुभयो, “पछिल्लो २४ घण्टामा मधेशमा भारीदेखि अति भारी वर्षा पनि रेकर्ड भएको छ, रौतहटमा सबैभन्दा बढी १३५ मिलिमिटर वर्षा भएको पाइएको छ ।”

त्यस्तै बाराको कलैयामा ७०.२, पर्सामा ८४.८, सिमरामा ६९.८ मिलिमिटर वर्षा भएको छ । त्यसै गरी अति भारी वर्षाका रूपमा रौतहटको गौरमा १४२.४ मिलिमिटर र महेशपुरमा १४१.४ मिलिमिटर वर्षा भएको छ । बागमतीदेखि सुदूरपश्चिमसम्मका केही भूभागमा भारी वर्षाहरू भइरहेका छन् ।

कृषि मौसमविद् रामेश्वर रिमालका अनुसार हालसम्म मधेशमा ६० प्रतिशत हाराहारीमा धान रोपाइँ भएको थियो । उहाँले भन्नुभयो, “अहिलेको लगातारको वर्षाले सुकेका रोपो मात्र ब्युँझाएको छैन, किसानको सुकेको आशा पनि तङ्ग्य्राएको छ ।” यस्तै वर्षा अझै केही दिन मधेशका लागि अमृत सरह हुने उहाँको भनाइ छ । माछापोखरीहरूको भने किसानले ख्याल गर्दै मुखक्षेत्रमा जाली राख्न सुझाउनुभयो ।

सुक्खा क्षेत्रमा वर्षा भएपछि ठुलो राहत मिलेको मधेश प्रदेशका विपत् व्यवस्थापन समिति तथा प्रमुख जिल्ला अधिकारीले पनि राहत महसुस भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताउनुभयो । रिसालले भन्नुभयो, “अब माटो भिजेको छ, फेरि रोपाइँको चटारोमा किसानहरू लागेका छन् ।” त्यहाँ हालसम्म ४० प्रतिसत मात्र रोपाइँ भएको थियो ।  बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार बारामा सुक्खा अवधीमा पनि करिब ८० प्रतिशत रोपाइँ भएको थियो । वर्षा नभएपछि धान खेतहरू पटपटी फुट्न थाले जस्तै किसानका मुहारमा पीडाका धाँजाहरू फाटेका थिए । बारागढी र सुवर्ण गाउँपालिकामा रोपाइँ राम्रो हुन सकेको थिएन ।

तीन दिनको पानीले सुकेका धानहरू जाग्न थालेका छन् । रोप्न नसकेका ठाउँमा धानका बिउ बुढो भएपछि समस्या भने आएको जानकारी उहाँले दिनुभयो ।  उहाँले भन्नुभयो, “आज प्रशासनमा लाइन छैन किनभने किसानहरू कता कलिला धानका बीउ छन् भनेर पर्म खोज्न थालेका छन् ।”वर्षा नहुँदाका दिन अब के हुन्छ भन्ने आशङ्काले गाउँलेहरू प्रशासन कार्यालयमा बुझबुझारथका लागि लाम लाग्ने गरेका थिए । पिउने पानीको समस्या भने बारामा अझै टरेको छैन ।

अन्यत्र वर्षा सुरु भए पनि सप्तरीमा राम्ररी नभएको गुनासो प्रमुख जिल्ला अघिकारी गर्नुहुन्छ । उहाँले सुनाउनुभयो, “दुई तीन दिनदेखि फाट्टफुट्ट पर्दै छ, राम्ररी वर्षा हुने प्रतीक्षामा किसानहरू छन् ।” जिल्लामा हालसम्म करिब ८० प्रतिशत हाराहारीमा रोपाइँ भएको छ । आफ्ना ब्याड सुकेपछि किसानहरू पनि कलिलो बिउको खोजीमा छरछिमेक धाउन थालेका छन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी सन्तोषजनक वर्षा नभए पनि निरन्तर प¥यो भने सुक्खा घट्ने अपेक्षा व्यक्त गर्नुहुन्छ । जिल्लामा हालसम्म ८५ प्रतिशत रोपाइँ सकिएको छ भने पिउने पानीको समस्या कम हुने आशा जागेको उहाँले औँल्याउनुभयो ।

कृषि विभागका अनुसार मधेश प्रदेशमा तीन लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफल धान रोपाइँका लागि योग्य रहेको छ ।

 

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend