logo
  • आइतबार, असोज १८ २०८३

लुम्बिनीमा ५० लाखभन्दा माथिका योजनाको अनुगमन अब मुख्यमन्त्री ड्यास बोर्डमार्फत


  • पब्लिक सूचना
  • बुधबार, साउन १४ २०८२

 लुम्बिनी प्रदेश सरकारले ५० लाखभन्दा माथिका योजनाहरू मुख्यमन्त्री ड्यास बोर्डमार्फत अनुगमन गर्ने भएको छ । सूचना तथा सञ्चार प्रविधि परिषदको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार तथा मातहतका निकायबाट कार्यान्वयन हुने योजनाहरूको ड्यास बोर्डमार्फत अनुगमन गर्ने गरी प्रणाली विकास गर्न निर्देशन दिनुभएको हो ।

‘‘सरकारले गर्ने हरेक कामलाई नजिकबाट अनुगमन गर्ने प्रणालीको विकास गर्न जरुरी छ । ५० लाखभन्दा माथिका योजनाको कार्यान्वयनको अवस्था र उपलब्धिलाई ड्यास बोर्डमार्फत अनुगमन गर्ने प्रणालीको विकास गरौं’’ मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘‘सरकारको कामलाई पारदर्शी र जवाफदेही बनाउन अनुगमनलाई प्रभावकारी बनाउनु आवश्यक छ । यसमा सरकारले ध्यान दिएको छ ।’’

मुख्यमन्त्री आचार्यले किसान एपलाई पनि प्रभावकारी ढङ्गले कार्यान्वयनमा लैजान निर्देशन दिनुभएको छ । ‘‘जुन लक्ष्य र उद्देश्य राखिएको छ, त्यसअनुसार किसान एप कार्यान्वयनमा लैजान जरुरी छ’’ उहाँले भन्नुभयो, ‘‘प्रदेशका मुख्य तरकारी बजारहरूको दैनिक मूल्यसूची राख्न आवश्यक छ । गैरकाष्ठ वन पैदावारको मूल्यसूचीसमेत किसान एपमा समावेश गरी सबैको पहुँचमा पुर्‍याउन सकिन्छ ।’’

यस्तै सूचना तथा सञ्चार प्रविधिको सेवा लक्षित वर्गले उपयोग गर्न सक्ने गरी विस्तार गर्न पनि मुख्यमन्त्री आचार्यले निर्देशन दिनुभएको छ ।

बैठकमा प्रमुख सचिव बाबुराम अधिकारीसहित परिषदका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो । कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशक अनुप बास्कोटाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन र चालु आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रमको विवरण प्रस्तुत गर्नुभएको थियो । बैठकमा डेटा सुरक्षालाई प्राथमिकता दिँदै काम गर्न जोड दिइएको थियो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend