logo
  • आइतबार, असोज १८ २०८३

न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध उजुरी आह्वान


  • पब्लिक सूचना
  • बिहिबार, माघ ३ २०८१

काठमाडौं, माघ ३ गते । न्याय परिषद् सदस्यमा प्रस्तावित दामोदर खड्काको संसदीय सुनुवाइ सुरु भएको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काको संसदीय सुनुवाइ प्रारम्भ गरेको हो ।

समितिले न्याय परिषद् सदस्यमा प्रस्तावित खड्काविरुद्ध उजुरी आह्वान समेत गरेको छ । खड्कालाई न्याय परिषद् सदस्य बनाउन उपयुक्त छैन भन्ने लागेको खण्डमा १० दिनभित्र उजुरी दिन सकिने छ । उजुरी कर्ताले चाहेमा उनीहरूको नाम, थर र वतन गोप्य रहनेछ ।

समितिको बैठकमा समिति सभापति ईश्वरीदेवी न्यौपानेले न्याय परिषद्को सदस्य पदमा नियुक्तिका लागि प्रस्तावित दामोदर खड्काको नाम प्रस्ताव गरी संसदीय सुनुवाइ हुन न्याय परिषद्बाट समिति समक्ष पुस २९ गते आएको बताउनुभयो ।

उहाँले संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफा १२ बमोजिम प्रस्तावित व्यक्तिका सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिने र निजको सम्बन्धमा कुनै सूचना वा उजुरी भए त्यस्तो सूचना वा उजुरी समिति समक्ष दिने प्रयोजनका लागि सो सम्बन्धी सूचना सरकारी सञ्चारमाध्यमार्फत सार्वजनिक गर्न प्रस्ताव गर्नुभयो ।

प्रस्तावलाई समितिले सर्वसम्मत पारित गरेको छ । समिति सभापति न्यौपानेले सुनुवाइका लागि समितिमा प्राप्त नाम सर्वसाधारणलाई जानकारी गराउने र प्रस्तावित व्यक्तिका सम्बन्धमा कुनै सूचना वा उजुरी भए त्यस्तो सूचना वा उजुरी समिति समक्ष दिने प्रयोजनका लागि सरकारी सञ्चारमाध्यम र इमेल जस्ता विद्युतीय सञ्चारका माध्यमबाट संसदीय सुनुवाइ समितिको कार्यविधि २०८० को दफाअनुसार सूचना प्रकाशन गर्न समिति सचिवलाई निर्देशन दिनुभयो । समितिको बैठक अर्को सूचना जारी भएपछि बस्नेगरी आजको बैठक स्थगित गरिएको छ ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend