पब्लिक सूचना
टेलिसिरियल ‘मेरी बास्सै’ बाट चर्चामा आएका कलाकार सुरज चापागाईं ‘बान्द्रे’ ले नयाँ सिरियल ल्याउने भएका छन्। उनले ‘मेरी आम्मै’ नामको सिरियल दर्शकमाझ ल्याउन लागेका हुन्। कात्तिक १७ गतेदेखि हरेक शनिबार बेलुका ७ः३० बजे सिरियल प्रसारण हुने उनले बताए।
उनी व्यवसायमा लागेसँगै केही वर्षयता कलाकारिताबाट टाढाजस्तै छन्।
बीचमा ‘हल्का रमाइलो, मेरी बास्सै, गाह्रो छ’ लगायतका सिरियलमा देखिए पनि दर्शकले नियमित हेर्न पाएका थिएनन्। अब कलाकारितालाई सक्रिय रूपमा अगाडि बढाउने योजनाका साथ यो सिरियल सुरू गरेको उनले बताए।

‘ग्रामीण परिवेशमा रहेर कमेडी सिरियल ल्याउन लागेको हुँ,’ उनले भने, ‘तिहारमा दर्शकलाई उपहार स्वरूप सिरियल दिने प्रयास हो। यसबाट माया पाउने विश्वास लिएको छु। सिरियलमा एस.पी. चापागाईँ (बान्द्रे)कै लेखन तथा निर्देशन रहनेछ।
सिरियलमा बाद्रेसहित मेरी बास्सैकी (मैयाँ) सुनीता गौतमको शीर्ष अभिनय रहने छ। सो सिरियलमा बान्द्रे र मैयाँ दिदी-भाइको भूमिकामा थिए। साथमा सुशील पोखरेल, यादव देवकोटा (सरापे), रमेश बुढाथोकी, मुसकान लामा, रमेश बुढामगर, भाइकृष्ण श्रेष्ठ लगायत कलाकारहरूको अभिनय रहनेछ।
बान्द्रेका अनुसार उनको नयाँ सिरियल आफ्नै युट्युब च्यानल ‘बान्द्रे नारायण’ बाट प्रसारण हुनेछ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend