पब्लिक सूचना
बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-६ चौकीडाँडास्थित रोशीखोलामा गएको बाढीले बगाएको सडकखण्ड । यही असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण धुलिखेलबाट भकुण्डे हुँदै नेपालथोक जाने सडकखण्डमा बाढीले ठुलो क्षति गरेको छ । । तस्बिर : पेमा लामा/ रासस
बाढी-पहिरोले अवरूद्ध बनेको बिपी राजमार्ग शुक्रबारदेखि संचालनमा आउने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत शुक्रबारदेखि राजमार्ग संचालनमा आउने जानकारी दिएका हुन्।
उनले बिहीबार दिउँसो भौतिक पूर्वधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्मासँग टेलिफोन वार्ता गरी जानकारी लिएको बताएका हुन्। सचिव शर्मा फिल्डमा खटिएका छन्।
‘उहाँ सडक मर्मत गर्ने प्राविधिक टोलीसहित रोशी गाउँपालिका-९ को दाउने भन्ने ठाउँमा हुनुहुन्छ। उहाँका अनुसार भोलि बिहान १० बजेसम्म बिपी राजमार्ग सञ्चालनमा आउने छ,’ उनले भने, ‘आज दिनभर र रातभर काम गर्दा बाँकी रहेको तीन ठाउँको अवरोध हट्ने छ। भोलि राजमार्ग खुलेपछि मात्र दसैं मान्ने बताउनुभयो। सडक खुलाउन अहोरात्र लाग्नु भएका प्राविधिक सहित सम्पूर्ण टिमलाई धन्यवाद!’
गत असोज १० र ११ गते आएको अविरल वर्षापछिको बाढी-पहिरोले विभिन्न ठाउँका सडकहरू अवरोध बनेका थिए। अधिकांस राजमार्गहरू सञ्चालनमा आइसकेका छन्। बिपी राजमार्ग भने निर्माणकै चरणमा छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend