पब्लिक सूचना
गोरखामा धारिलो हतियार प्रहार गरेर एक महिलाको हत्या भएको छ।
पालुङटार नगरपालिका-७ की २८ बर्षीया रश्मी कुमालको हत्या भएको हो।
बुधबार अन्दाजी राति १२ बजेतिर ती महिलाको आफ्नै घरमा हत्या भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक सरोज कार्कीले जानकारी दिए।
रश्मीको घाँटीको दाहिनेतर्फ धारिलो हतियारको चोट देखिएको छ। घाइते अवस्थामा फेला परेपछि उनलाई दमौली अस्पताल पुर्याइएको थियो।
‘उनलाई उपचारका लागि दमौली अस्पताल पुर्याइएको थियो, २ बजे मृत घोषित गरिदिएको हो,’ प्रहरी निरीक्षक कार्कीले भने।
उनी आफ्नो ८ वर्षीया छोरासँग बस्दै आएको खुलेको छ। उनका श्रीमान राजु कुमाल वैदेशिक रोजगारीका लागि विदेशमा रहेको उनले बताए।
मध्यरातमा अपरिचित व्यक्तिले घरमा प्रवेश गरी हत्या गरेको छोराले देखेको प्रहरीसमक्ष बयान दिएका छन्।
‘छोराले कोही आएर दुई पटक हिर्काएर गएको देखेको भनेर हामीसँग भनेका छन्। को हो भन्ने चिन्न सकेनछ,’ कार्कीले भने, ‘पछि आफन्तलाई खबर भएपछि घटनाको आधा घण्टामै प्रहरी घटनास्थलमा पुगिसकेको थियो।’
यस घटना के कारणले भएको हो भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend