प्रणय दिवसमा डा.डीआर उपाध्यायको ‘कफी लभ’सार्वजनिक


लेखक : admin      २ फाल्गुन २०७७, आईतवार १७:०१ मा प्रकाशित     
प्रणय दिवसमा डा.डीआर उपाध्यायको ‘कफी लभ’सार्वजनिक

गीत लेखनबाटै गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका गीतकार डा. डीआर उपाध्यायको ११ औं उपन्यास ‘कफी लभ’ सार्वजनिक भएको छ ।

प्रणय दिवसको अवसर पारेर राजधानीमा आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, आख्यानकार भुवनहरि सिग्देललगायतले उपन्यास संयुक्त रुपमा विमोचन गरे ।

उपन्यासमा भारतको देहरादुनको दुन विश्वविद्यालयमा पढ्दै गरेका पाँच नेपाली विद्यार्थीहरुबीचको कलेज अध्ययनका क्रममा भएका विभिन्न घटना र उनीहरुको आपसी प्रेमलाई प्रस्तुत गरिएको छ ।

कुलपति उप्रेतीले अहिलेका तन्नेरी पुस्ताको प्रेम एवम् जीवनशैली र वर्तमान नेपाली समाजको अवस्थालाई उपन्यासले छर्लङ्ग पारेको दाबी गरे ।

आख्यानकार भुवनहरि सिग्देलले उपन्यासले प्रेमको परिभाषा सामाजिक मूल्य र मान्यता भन्दा फरक किसिमले दिएको बताए । उपन्यास पढ्ने पाठकले आफ्ना कलेज दिन सम्झने उनको भनाई थियो ।

आख्यानकार डा. उपाध्यायले आफूले २४ वर्षको तन्नेरी बनेर उपन्यास लेखेको स्मरण गर्दै पुस्तक तन्नेरी मनहरुसँग सामिप्य रहेको र सबै पुस्ता एवम् वर्गको भाव समेटेको बताए ।

कवि हेम प्रभासले तृतीय पुरुषमा लेखिएको उपन्यास संवाद शैलीको भएको बताए । संगीतकार सन्तोष श्रेष्ठले पुस्तक पढ्दा आफुलाई एउटा सफल फिल्म हेरेको महशुस भएको खुलाए ।

पुस्तकका सम्पादक तथा गीतकार, सञ्चारकर्मी डब्बु क्षत्रीले आफ्नो उमेरभन्दा आधा उमेरमा झरेर आख्यानकार उपाध्यायले अहिलेको पुस्ताको प्रेमलाई गहन रुपमा पुस्तकमा उतारेको बताए ।

शिखा बुक्सले प्रकाशन तथा ज्ञानज्योती पब्लिकेशनले वितरण गरेको २४० पृष्ठको उपन्यासको मूल्य ३ स य७५ रुपैयाँ रहेको छ ।

Copy link
Powered by Social Snap