पब्लिक सूचना
अभिनेता तथा निर्देशक निश्चल बस्नेतले पछिल्लो समय धेरै सामना गरेको प्रश्न हो — तपाईं निर्देशनमा कहिले फर्किनुहुन्छ?
२०७४ फागुनमा उनले निर्देशन गरेको पछिल्लो फिल्म ‘लुट २’ प्रदर्शन भएको थियो। त्यसपछि भने उनी अभिनय, गायन, नृत्य र फिल्म निर्माणमा सक्रिय रहे। पर्दा अगाडि देखिने विभिन्न भूमिका निर्वाह गरे, तर पर्दा पछाडि रहेर फिल्मको कमान सम्हाल्ने निर्देशकको भूमिकाबाट टाढिए।
छ वर्षपछि उनी फेरि निर्देशनमा फर्किएका छन्, आजबाट रिलिज भएको ‘दिमाग खराब’ मार्फत्।
निश्चल भने ‘दिमाग खराब’ लाई आफ्नो ‘कमब्याक’ फिल्म मान्दैनन्।
‘निर्देशन नगर्दा पनि म स्क्रिप्ट लेखनकै काम गरिरहेको थिएँ। कुनै पनि चित्त बुझेन, त्यसैले बनाइनँ। अहिले चित्तबुझ्दो स्क्रिप्ट पाएपछि फिल्म बनाएँ। यसलाई सबैले निर्देशनमा फर्किएको भनिरहेका छन्, तर मलाई त्यस्तो लाग्दैन। किनभने, म फिल्म क्षेत्रमै थिएँ। निर्माण, अभिनय लगायतका विभिन्न भूमिकामा रहेर कम गरिरहेकै थिएँ। यस्तोमा फर्किएँ भनेर कसरी भन्न सकिन्छ र?’ उनले भने, ‘म फिल्म छाडेर कहाँ गएको थिएँ र, फर्किनलाई?’

उनले अगाडि भने, ‘म जहिले पनि फिल्म बनाउने कोसिसमै थिएँ। फिल्मबाहेक अरू कुनै काम गरेको पनि छैन। त्यसैले १० वर्षपछि निर्देशन गरेँ भने पनि म त्यसलाई आफ्नो कमब्याक मान्दिनँ।’
उनको पहिलो फिल्मले समीक्षकहरूको प्रशंसा पाउनुका साथै व्यावसायिक रूपमा पनि राम्रो गर्यो। फरक खालको नेपाली फिल्म बनेको भन्दै धेरैले निश्चलको निर्देशकीय क्षमताको तारिफ गरे।
‘त्यति बेला हामीलाई पनि केही फरक काम गर्यौं भनेर सन्तुष्टि भइरहेको थियो। दर्शकले रूचाउँछन् कि रूचाउँदैनन् भन्नेतिर ध्यानै गएन,’ उनले भने, ‘रिलिजअघि नै हामीलाई फिल्ममा सुधार्नुपर्ने कुरा धेरै छन् भन्ने महसुस भएको थियो, तर बजेट कम हुँदा हामीले चाहेर पनि सुधार गर्न सकेनौं। जस्तो छ, त्यस्तै अवस्थामा रिलिज गर्यौं। यति हुँदाहुँदै दर्शकहरूले निकै रूचाइदिनुभयो।’

पहिलो फिल्मबाटै दर्शकको माया र विश्वास पाएपछि एक निर्देशकका रूपमा थप राम्रो काम गर्नुपर्छ भन्ने जिम्मेवारी महसुस भएको उनी बताउँछन्।
यही जिम्मेवारीका कारण दर्शकलाई राम्रो फिल्म दिनुपर्छ भन्ने दबाबले तीन–चारवटा स्क्रिप्ट उनले त्यत्तिकै थन्क्याए। दर्शकले आफूबाट आशा राखेपछि ‘कम्तिमा लुट जत्तिको फिल्म दिनुपर्छ’ भन्ने उनले महसुस गरे।
यसो भन्दै गर्दा निश्चलले यो पनि बुझेका छन् — फिल्म भनेको निर्देशकको एक्लो प्रयासबाट बन्ने होइन, निर्माणमा संलग्न सबैको ‘टिमवर्क’ ले नै फिल्म राम्रो हुने हो।
‘मलाई पहिलो फिल्म बनाउँदा केही आउँदैन थियो। हुन त अहिले पनि सिक्ने कोसिस गरिरहेको छु। म काम गर्दा आफू वरिपरिको मान्छे पनि आफ्नो क्षेत्रमा पोख्त होस् भन्ने चाहन्छु। एक्लैले काम गरेर कहिले पनि राम्रो फिल्म बन्दैन। पूरै टिम राम्रो भयो भने मात्रै राम्रो बन्छ। मुख्य कुरा स्क्रिनप्ले (पटकथा) बलियो हुनुपर्यो,’ उनले भने।
यही बलियो पटकथाकै खोजीमा ‘लुट २’ पछि ‘दिमाग खराब’ सम्म आइपुग्न छ वर्ष लागेको उनी बताउँछन्।
यसबीच अभिनयमा व्यस्त रहेकाले उनलाई निर्देशनभन्दा अभिनयकै बढ्ता स्वाद लागेको त होइन?
हाम्रो यो प्रश्नमा उनले भने, ‘मलाई अभिनयभन्दा फिल्म निर्देशनमै बढी रूचि छ। निर्देशन गर्दा मलाई त्यो फिल्म नै मेरो संसार हो जस्तो लाग्छ। म आफ्नो संसार आफूलाई जसरी मन लाग्छ, त्यसरी बनाउँछु। म पर्दापछाडि एकदमै मज्जा लिइरहेको हुन्छु। आफूले भनेजस्तो नहुँदा रिसाइन्छ पनि, तर सँगसँगै मलाई त्यो प्रक्रियाले आनन्द पनि दिन्छ।’
‘यसो भन्दै गर्दा अन–क्यामरा काम गर्न रूचि नै लाग्दैन भन्ने पनि होइन,’ उनले अगाडि भने, ‘तर स्वभावले म क्यामरा पछाडिकै मान्छे हुँ। क्यामरा पछाडिकै दुनियाँ मिस गरिरहेको हुन्छु।’
यही क्यामरा पछाडिको दुनियाँ ‘मिस’ गर्ने भएर नै होला, निश्चल अरूको फिल्म खेल्दा पनि कथा–पटकथालाई निकै प्राथमिकता दिन्छन्। फिल्म कस्तो बन्छ भन्ने पटकथाले तय गर्ने हुँदा उनी आफूले खेल्ने फिल्मको पटकथा बलियो होस् भन्ने चाहन्छन्। त्यसलाई राम्रो बनाउन सक्दो योगदान पनि गर्छन्। तर जसै फिल्म छायांकनमा जान्छ, उनी आफूलाई पूर्णतया निर्देशकको हातमा सुम्पन्छन् र अभिनेताका रूपमा सीमित भएर काम गर्छन्।
स्क्रिप्टलाई यति महत्व दिने निश्चल बस्नेतले ‘दिमाग खराब’ को स्क्रिप्ट चाहिँ कसरी पाए त?
हाम्रो यो जिज्ञासामा उनले भने, ‘स्क्रिप्ट चित्त नबुझी मलाई काम गर्न मन लाग्दैन। स्क्रिप्टलाई लिएर मेरो दिमागले अनेकौं प्रश्न खेलाउँछन्। एक निर्देशकका रूपमा मैले ती प्रश्नको जवाफ दिन नसक्ने हो भने फिल्म बनाउनुको अर्थ छैन। यही कारण मलाई निर्देशन गर्न हुटहुटी जाग्ने स्क्रिप्ट भेट्न निकै समय लाग्यो।’
उनी गतिलो स्क्रिप्टको खोजीमै रहेका बेला एकदिन आकाश बरालले आफूसँग एउटा स्क्रिप्ट भएको बताए।
निश्चलले जसै त्यो स्क्रिप्ट पढे, धेरै दिनसम्म त्यसको विषयवस्तु उनको दिमागमा घुमिरह्यो।
त्यसपछि निश्चलले आकाशलाई भने, ‘यो ठिक छ, तर मलाई यो स्क्रिप्टबाट यस्तो खालको कथा भन्न मन छ।’
आकाशले उनको कुरामा सहमति जनाए।
उनीहरू स्क्रिप्ट पुनः लेखनमा लागे। एक वर्षभन्दा बढी समय पुनः लेखनमा काम गरेपछि ‘दिमाग खराब’ को नयाँ स्क्रिप्ट तयार भयो।
‘हामीले केही परिवर्तन गर्ने सोच बनाएका थियौं, तर परिवर्तन गर्दा गर्दै आकाशले ल्याएको स्क्रिप्ट केही बाँकी रहेन। पूर्ण रूपमा नयाँ बन्यो। निर्देशकका रूपमा यो फिल्ममार्फत् मलाई केही भन्न मन थियो। मैले त्यही कुरा भन्न खोजेको छु,’ निश्चलले भने, ‘के भन्न खोजेको छु, त्यो थाहा पाउन चाहिँ हलमै गएर फिल्म हेर्नुपर्छ।’
नयाँ स्क्रिप्ट तयार भएपछि निश्चल फिल्मको कास्टिङमा लागे। खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा, विजय बराल लगायतलाई अनुबन्ध गरे।
कात्तिक २४ बाट रिलिज यो फिल्ममा विजय बराल नकारात्मक भूमिकामा देखिएका छन्। सकारात्मक भूमिका निर्वाह गरेर दर्शकको मनमा बस्न सफल विजयलाई नकारात्मक भूमिकामा देखाउन निश्चल डराएका थिए। त्यही भएर छायांकन अघिसम्म उनी विजय बरालको विकल्प खोजिरहेका थिए। तर पाएनन्।
फिल्म बनिसकेपछि भने त्यो नकारात्मक पात्र विजयकै लागि बनेको हो कि भन्ने निश्चल ठान्छन्।
‘विजयको भूमिका देखेर दर्शकलाई रिस उठ्नुपर्छ। सुरूमा मलाई आफूले सोचेजस्तो हुन्छ कि हुँदैन भनेर चिन्ता लागेको थियो,’ उनले भने, ‘फिल्म हेरेपछि भने यो भूमिका विजयकै लागि लेखिएको रहेछ भन्ने लाग्दैछ। उनको प्रस्तुतिले म निकै खुसी छु।’

ट्रेलरमा देखिएअनुसार ‘दिमाग खराब’ मा निश्चल पनि सानो भूमिकामा छन्। तर यसपालि अभिनयभन्दा आफ्नो पूरा ध्यान निर्देशनमै केन्द्रित रहेको उनी बताउँछन्।
‘निर्देशन र अभिनय एकसाथ गर्न गाह्रो हुन्छ,’ उनले भने, ‘आफ्नो फिल्म भन्दैमा जबरजस्ती घुस्नु हुँदैन। फिल्ममा सुहाउँदो भएरै मैले त्यो सानो भूमिका राखेको हुँ, जुन मैले नै खेलेँ।’
‘दिमाग खराब’ कस्तो फिल्म हो त?
हाम्रो यो प्रश्नमा निश्चलले भने, ‘मान्छे जुन सिस्टमभित्र बसेको छ, त्यो सिस्टमको सानो–सानो कुराले कसरी मान्छेको दिमाग खराब गरिरहेको छ भनेर फिल्ममा देखाइएको छ।’
यो फिल्म भन्दाअघि निश्चल ‘जिन्दावाद’ भन्ने अर्को फिल्मको तयारीमा थिए, जुन बुद्धिसागरले लेखेका हुन्। निश्चलले उक्त फिल्म निर्माणको घोषणासमेत गरेका थिए। तर कोरोना महामारीले काम रोकियो। यति मात्र होइन, फिल्ममा भिएफएक्सको काम धेरै गर्नुपर्ने हुँदा खर्च पनि धेरै लाग्ने भयो।
कोरोनाले त्रसित दर्शक हलमा फर्किन्छन् कि फर्किंदैनन् भन्ने अन्यौल रहेका बेला उनले बढी लगानी पर्ने फिल्म बनाएर जोखिम मोल्न चाहेनन्। उनले तत्काललाई यसको काम पछाडि सारे।
‘यो फिल्म कहिले बन्छ भनेर अहिल्यै भन्ने अवस्था छैन। हामीले सोचेको बजेटमा भिएफक्सको काम हुन्छ भन्ने निश्चित भएपछि मात्र यसमा हात हाल्नेछौं,’ उनले भने, ‘नत्र एकदमै ठूलो लगानी गरेर जिन्दावाद बनाउँदिनँ।’

कुनै बेला मन खाने स्क्रिप्ट नपाएर छ वर्ष निर्देशन नगरी बसेका निश्चल बस्नेतसँग अहिले धेरै स्क्रिप्ट छन्। त्यसैले दर्शकले उनको निर्देशनमा बन्ने अर्को फिल्म हेर्न धेरै कुर्न नपर्ला!
निश्चल आफ्नो दिमागमा कुनै फिल्मको कथा फुर्यो भने त्यसलाई सम्पादक निमेष श्रेष्ठ, निर्देशक हेमराज विसी, अभिनेता तथा निर्देशक खगेन्द्र लामिछाने, मनोज पण्डित लगायतलाई सुनाउँछन्। अनि सबैको सहयोगमा स्क्रिप्टको खाका बुन्न थाल्छन्।
‘दिमाग खराबपछि छिट्टै अर्को फिल्म बनाउँछु होला,’ उनले भने।
कुराकानीको आखिरीमा हामीले निश्चललाई सोध्यौं, ‘तपाईंका लागि फिल्मको आधारभूत चिज के हो?’
‘मनोरञ्जन,’ जवाफमा उनले भने, ‘तपाईं थ्रिलर, एक्सन जुनसुकै विधाको फिल्म बनाउनुस्, त्यसले आफ्नो विधाको औचित्य पूरा गर्दै दर्शकलाई मनोरञ्जन पनि दिनुपर्छ।’
उनले अगाडि भने, ‘यसबाहेक फिल्म बनाउनुका पछाडि हरेक निर्देशकको केही न केही उद्देश्य हुन्छ। निर्देशकले भन्न खोजेको कुरा दर्शकले सकेसम्म बुझ्नुपर्छ। नत्र पैसा खेर गएन भन्नेसम्म भयो भने हाम्रा लागि राम्रो मान्नुपर्छ।’
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend