logo
  • आइतबार, असोज १८ २०८३

मेलौलीमा औद्योगिक ग्राम निर्माण अलपत्र, वातावरणीय प्रतिवेदन नबन्दा काम अघि बढेन


  • पब्लिक सूचना
  • सोमबार, भाद्र १६ २०८२

बजेट हुँदाहुँदै औद्योगिक ग्राम निर्माणका लागि जग्गाको टुङ्गो भई विस्तृत अध्ययन प्रतिवेदन बनिसक्दा पनि काम अघि बढ्न सकेको छैन । मेलौली नगरपालिकाको कफलानीमा औद्योगिक ग्राम निर्माणका लागि सङ्घीय सरकारले ९२ लाख रुपियाँ पठाए पनि वातावरणीय अध्ययन प्रतिवेदन तयार हुन नसक्दा चार वर्षसम्म काम अघि बढ्न नसकेको हो ।

बजेट हुँदाहुँदै औद्योगिक ग्राम निर्माणको काम चार वर्षसम्म रोकिएपछि महालेखा परीक्षकको कार्यालयले काम अघि बढाउनु पर्छ, अन्यथा नेपाल सरकारबाट प्राप्त बजेट सङ्घीय सञ्चित कोषमा फिर्ता दाखिला हुनुपर्ने टिप्पणी गरेको छ । महालेखा परीक्षकको कार्यालयले नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षणका क्रममा औद्योगिक ग्रामका लागि आव २०७७/७८ मा ९२ लाख रुपियाँ बजेट प्राप्त भए पनि काम अघि नबढ्दा बजेट फिर्ता गर्न सुझाव दिएको छ ।

प्रतिवेदनमा भनिएको छ, “पालिकालाई उद्योग मन्त्रालयमार्फत आव २०७७/७८ मा औद्योगिक ग्राम स्थापना तथा निर्माणका लागि ९२ लाख रुपियाँ उपलब्ध गराएकोमा वातावरणीय अध्ययन प्रतिवेदन हालसम्म बनाउन नसकी औद्योगिक ग्राम निर्माण सुरु हुन सकेको छैन । मन्त्रालयले उपलब्ध गराएको रकम स्थानीय सञ्चित कोषमा मौज्दात छ । बर्सेनि हुने मूल्यवृद्धिलगायतका कारण आयोजनाको लागत बढ्दै जाने र नेपाल सरकारले उपलब्ध गराउने रकम निश्चित हुने भएकाले योजना निर्माणमा हुने विलम्बले लागत बढाउँदै गएको देखियो । तसर्थ सम्बन्धित निकायसँग समन्वय गरी योजनाको काम अघि बढाउनु पर्छ अन्यथा नेपाल सरकारबाट प्राप्त रकम सङ्घीय सञ्चित कोषमा फिर्ता दाखिला हुनु पर्छ ।”

मेलौली नगरपालिका–१, ३, ५ र ६ नम्बर वडा जोड्ने गरी कफलानीमा औद्योगिक ग्राम स्थापनाका लागि थान छनोट गरेर सङ्घीय सरकारले नगरपालिकाको खातामा रकम पठाएको थियो । चुनावका बेला मात्रै औद्योगिक ग्रामको मुद्दा उठ्ने तर बजेट हुँदाहुँदै औद्योगिक ग्रामको काम रोकिएको मेलौली नगरपालिकाका स्थानीय चिन्तामणि भट्टले गुनासो गर्नुभयो । चुनाव जितेपछि नेताले चुनावी वाचा बिर्सने गरेको उहाँको गुनासो छ ।  मेलौलीको कफलानी क्षेत्रमा फलाम, नेपाली कागज बनाउने लोक्ता, बाँस–निगालो, केतकी, भिमल, सल्लाको खोटो, जडीबुटीतर्फ रिट्ठा, अमलालगायतको बहुमूल्य खानी रहेको छ । औद्योगिक ग्राम स्थापनाका लागि छनोट भएको मेलौली नगरपालिका–५ को खलिगाडमा फलाम खानी र चुनढुङ्गा खानी रहेको छ ।

धार्मिक र पर्यटकीय हिसाबले बैतडी जिल्लाकै प्रसिद्ध ठाउँ मानिएको मेलौलीमा औद्योगिक ग्राम स्थापना हुनसके युवाले स्वदेशमै रोजगारी पाउने अपेक्षा गरिएको छ । औद्योगिक ग्राम स्थापनाका लागि नगरपालिकाले विस्तृत अध्ययन प्रतिवेदन तयार गरिसकेकाले यस वर्ष वातावरणीय अध्ययन प्रतिवेदन तयार हुने मेलौली नगरपालिकामा नगरप्रमुख भीमबहादुर चन्दले बताउनुभयो ।

  • Tags :
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to publicsuchana.com  | Site By : SobizTrend