पब्लिक सूचना
काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरुको स्वास्थ्य परीक्षण सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ । अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीहरुको मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी सम्झौता आज गरिएको हो ।
पेरिस पारालिम्पिक कांस्य पदक विजेता पलेसा गोवर्द्धनको स्वास्थ्य परीक्षण गरेर नि:शुल्क परीक्षणको सुरुआत गरिएको हो । ‘पलेशाको उपलब्धीले देशको शीर उचो बनाएको छ,’ स्वास्थ्यमन्त्री प्रदीप पौडेलले भने, ‘यो सुरुआत उहाँप्रतिको सम्मान पनि हो ।’
गत साउन २७ गते आफ्नो स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले देशका लागि खेल्ने खेलाडीहरुको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले आवश्यक व्यवस्था गर्ने घोषणा गरेका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितीमा मन्त्रालय, युवा तथा खेलकुद राष्ट्रिय खेलकुद परिषद राखेप र अस्पतालकाबीच खेलाडीको मुटु परीक्षण हरेक वर्ष निःशुल्क मुटु परीक्षणसम्बन्धी सम्झौता गरिएको हो । सम्झौताअनुसार यसका लागि आवश्यक आर्थिक व्यवस्थापन गंगालालले आफ्नै स्रोतबाट गर्नेछ ।
हाल केन्द्रकै तर्फबाट नि:शुल्क परीक्षण भए पनि आगामी वर्षबाट थप वार्षिक कार्यक्रम बनाएर कार्यक्रम अघि बढाउने मन्त्रालयले तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ । सम्झौता हरेक वर्ष नवीकरण गर्ने समेत व्यवस्था गरिएको छ ।
घोषणाबाट अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा देशका तर्फबाट सहभागी राष्ट्रिय टिमका ७ सय ५७ खेलाडी लाभान्वित हुनेछन् ।
© 2026 All right reserved to publicsuchana.com | Site By : SobizTrend