कविता ।।अन्तरङ्गी काँडाहरु ।। प्रेम राई परीक्षित


लेखक : admin      २१ असार २०७८, सोमबार १७:०८ मा प्रकाशित     
कविता ।।अन्तरङ्गी काँडाहरु ।। प्रेम राई परीक्षित
कविता
अन्तरङ्गी काँडाहरु
काँडा देख्ने बित्तिकै तर्सिन्छ
परपर भाग्छ तर्किन्छ
काँडा देख्ने बित्तिकै
अझ नजिक हुन्छु
सफलताका कथाहरु सम्झन्छु
काँडालाई घृणा गर्छ
काँडालाई माया गर्छु
उसले मलाई
घोचेको छ उसले कैयौ पटक
र त नदुख्ने भएकोछु
दु:खलाई आत्मसात गर्ने भएको छु
र त्यही काँडा टेक्दै समाउँदै
माथि उक्लने भएको छु
सम्झन्छ छियाछिया पाइतालाहरु
र काँडा देख्ने बित्तिकै तर्सिन्छ
काँडा देख्ने बित्तिकै उत्साहित हुन्छु
पढ्छु सफलताका
अनगिन्ती कथाहरु
काँडाहरुको घोचाईमा
सिमान्त रमाउँछु
सोच्छु
यदि काँडा नभैदिएको भए
सायद जीवन गुलाब हुने थिएन
डम्फर खुट्टामा नभासिएका भए
सफरको हुने थिएन महत्व
हुने थियो जीवन
आँशु बिनाको सुख्खा आँखाहरु
खुसी बिनाको फुस्रा ओठहरु!!
आजकल
काँडाघारिमै उदाउँछ जीवन
काँडाघारिमै मुस्कुराउँछ ओंठहरु
अनि काँडाघारिमै
उड्छन् स्वप्नील आँखाहरु
त्यसैले
काँडा भनेको त
जीवनको अन्तरङ्ग नै रहेछ
म काँडालाई माया गर्छु
किनकी काँडा नभएको भए
जीवन गुलाब हुने थिएन
म गुलाब मन पराउँछु
र त काँडालाई औधी माया गर्छु।
प्रेम राई परीक्षित
उदयपुर
Copy link
Powered by Social Snap