काठमाडौ, पौष १७ । प्रतिनिधिसभा विघटन भए पनि राष्ट्रियसभाको एकल अधिवेशन शुक्रबार सुरु भएको छ । संसद्को मुख्य काम कानुन निर्माण, संशोधन र परिमार्जन गर्ने भए पनि यो काममा राष्ट्रियसभा एक्लैले मात्र गरेर पूर्णता पाउँदैन। संविधान, कानुन र संसद् नियमावलीले राष्ट्रियसभाले बनाउने कानुनलाई प्रतिनिधिसभाले पारित गरे मात्र अन्तिम रूप पाउने व्यवस्था गरेका छन्।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट पुस ५ गते प्रतिनिधिसभा विघटन भएको थियो। प्रतिनिधिसभा विघटनमा परे पनि संवैधानिक संकट टार्न राष्ट्रियसभाको अधिवेशन सुरु भएको हो।
एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भबीचको अवधि ६ महिनाभन्न्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ। सरकारको सिफारिसमा असार १८ गते दुवै सदनका अधिवेशन अन्त्य गरिएको थियो।
प्रतिनिधिसभा विघटन भए पनि राष्ट्रियसभाको एकल अधिवेशन बस्ने संवैधानिक व्यवस्था छ। संविधानको धारा ९३ मा भनिएको छ, ‘यस संविधानबमोजिम राष्ट्रपतिले समय–समयमा दुवै वा कुनै सदनको आह्वान गर्नेछ।’
राष्ट्रियसभा सचिवालयका अनुसार ६ वटा विधेयक सभामा प्रस्तुत हुन बाँकी छन्। १० वटा विधेयक विभिन्न समितिमा छलफलका क्रममा छन्। राष्ट्रियसभाले पारित गरेका ६ विधेयक प्रतिनिधिसभाबाट फिर्ता आउन बाँकी रहेकाले ती विधेयक अघि बढ्ने अवस्था छैन।